२०८३ बैशाख १० गते , विहीबार
झापामा एक विद्यार्थीमाथि यौन शोषण, आरोपी शिक्षक पक्राउ
झापा । विद्यार्थीमाथि यौन शोषण गर्नेलाई इलाका प्रहरी कार्यालय अनारमनिले पक्राउ गरेको छ । पीडित परिवारको उजुरीका आधारमा अर्जुनधारा–६ का जितेन बस्नेतलाई बुधवार साँझ पक्राउ गरिएको बिर्तामोडका डिएसपी सन्तोष आचार्यले जानकारी दिए । उजुरीका आधारमा पक्राउ गरिएको छ, डिएसपी आचार्यले भने – थप अनुसन्धान सुरु गरेका छौँ ।
बिर्तामोडस्थित न्युटन एकेडेमीमा अध्ययनरत छात्रालाई बस्नेतले केही समयदेखि फकाइफुलाई यौन शोषण गरेको आरोप लागेको छ । परीक्षामा सहयोग गर्ने भन्दै तत्कालीन शिक्षक बस्नेतले बिर्तामोडका विभिन्न होटेलमा खाजा खान बोलाएर यौन शोषण गरेको खुलेको छ । होटेलमा खाजा खान बोलाउने र होटेल भिडभाड छ भन्दै कोठामा लगेर यौन शोषण गर्ने गरेको पीडितको भनाई छ । १५ वर्षीया बालिकालाई फेसबुकमा समेत म्यासेज गर्दै बोलेको परिवारले थाहा पाएपछि घटना बाहिर आएको हो ।
बस्नेत असोज महिनादेखि न्युटनमा कार्यरत नरहेको प्रिन्सिपल देवेन्द्र हुँमागाईले जानकारी दिए । अध्ययनका लागि भारत जाने भनेपछि विद्यालयले बिदा दिएको हुँमागाईको भनाई छ । भदौ महिनासम्म कार्यरत हुनुहुन्थ्यो, त्यसपछि यहाँ हुनुहुन्न – उनले भने । हुँमागाईले प्रहरीबाट सो घटनाबारे जानकारी पाएको बताएका छन् । उनले गलत क्रियाकलापमा सरिक जो सुकैलाई कानुनी कारबाही हुनुपर्ने बताए । न्युटनमा बस्नेत गणित शिक्षकका रुपमा कार्यरत थिए । उनी विद्यालयमा कार्यरत रहँदै विद्यार्थीमाथि यौन शोषण गरेको बताइएको छ । पीडित बालिकाको बुधवार नै स्वास्थ्य जाँच गरिएको छ ।