आन्तरिक महाधिवेशन विपक्षी दलसँगको लडाइँजस्तो नबनाउन सभापति थापाको आग्रह
झापा । नेपाली काँग्रेस झापाका सभापति उद्धव थापाले पार्टीको आन्तरिक महाधिवेशन र नेतृत्व छनौट प्रक्रियालाई विपक्षी दलसँगको लडाइँजस्तो नबनाउन कार्यकर्तालाई आग्रह गरेका छन् ।
नेपाली काँग्रेस कनकाई नगरपालिका ९ नम्बर वडाको आयोजनामा आइतबार सम्पन्न कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सभापति थापाले संसदीय निर्वाचनमा एमालेसँग चुनावी भिडन्त गर्नुपर्ने भएकोले आन्तरिक छनौट प्रक्रियामा मित्रवत् व्यवहार गर्न प्रतिस्पर्धी उम्मेद्वारहरुलाई अपिल गरेका हुन ।
पार्टीमा अहिलेसम्म गरेको काम र योगदानको मूल्याङ्कन गरेर योग्य, सक्षम र क्षमतावान् नेतृत्वलाई विवेकपूर्ण मतदान गर्न सभापति थापाले कार्यकर्तासँग अनुरोध समेत गरे ।
कार्यक्रममा नेपाली काँग्रेस झापा प्रचार विभाग प्रमुख कृष्ण हुमागाईँ, २ नं क्षेत्रीय सभापति खगेन्द्र मैनाली, शेरबहादुर थापा, टीका प्रसाईँ, खड्ग प्रसाईँ, दीपक तामाङ, हस्त परियार, दीपेन्द्र ढकाल लगायतले बोलेका थिए । मोहन राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन चन्द्र चुडालले गरेका थिए ।