२०८३ बैशाख १० गते , विहीबार
सङ्घीय लिम्बुवान मञ्च झापाको अध्यक्षमा नगेन्द्र राई
झापा । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सङ्घीय लिम्बुवान मञ्च नेपाल झापाको नयाँ नेतृत्व चयन भएको छ । पार्टीको छैटौँ जिल्ला अधिवेशनबाट नगेन्द्र राई अध्यक्षमा चयन भएका छन् ।
बिर्तामोडस्थित सिपी होटेलमा आज बिहान ३ बजेसम्म चलेको बन्द सत्रबाट ६१ सदस्यीय जिल्ला कार्यसमितिमध्ये ३६ जनालाई चयन गरेको निवर्तमान अध्यक्ष धनबहादुर पंधाकले जानकारी दिए । बाँकी सदस्यहरू मनोनीत हुने उनले बताए । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा अमित राई, उपाध्यक्षहरू राजा आङ्थुपो, वविता राई, नारायण तामाङ, प्रेम थेबे, करण योङहाङ र सचिवत्रय तीर्थराज पौडेल, विकास ठाडा मगर र कृष्णबहादुर सेन्दाङ चयन भएका छन् ।
अधिवेशनले केन्द्रीय सचिवालय सदस्यमा निवर्तमान अध्यक्ष धनबहादुर पंधाक र केन्द्रीय सदस्यमा निवर्तमान उपाध्यक्षहरू ज्वाला इम्बुङ र राजकुमार फागोलाई पठाउने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय अध्यक्ष कुमार लिङ्देन (मिराक) प्रमुख अतिथि रहेको खुल्ला सत्रमा केन्द्रीय उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, केन्द्रीय सचिवालय सदस्य भक्त मेयाङ्बो, जिल्ला इन्चार्ज भानु भट्टराई, केन्द्रीय सचिव विष्णु भट्टराई, केन्द्रीय सदस्य दिलु लिङ्देन लावती, मञ्चका पाँचथर अध्यक्ष चन्द्रराज आङ्दम्बे, मोरङ अध्यक्ष जीवन खेवा, मञ्चका विद्यार्थी नेता मोहन माबो, सङ्घीय दलित मुक्ति मञ्चका बलराम सदा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।