झापा-३ मा काँग्रेसको महाधिवेशन चटारो : प्रत्याशी उम्मेदवारहरूको फैसला भोलि
भद्रपुर। नेपाली कांग्रेसको १४औं महाधिवेशनको पूर्वाद्र्धमा यही मंसिर ६ गते संसदीय क्षेत्रका सभापति र महाधिवेशन प्रतिनिधिको चुनाव हुँदैछ ।
झापाको संसदीय क्षेत्र नं. ३ मा क्षेत्रीय सभापतिका आकांक्षीमा गणेश पोखरेल र राजेन्द्र घिमिरे छन् । त्यसैगरी, महाधिवेशन प्रतिनिधिका लागि टीकाराज ढकाल, तोया गड्तौला (खसआर्य), मनोज सुब्बा (आदिवासी जनजाति), ओमप्रकाश सरावगी, तारा भुतेर्ल, लता कार्की, श्याम सिटौला, शर्मिला अधिकारी, कैलाश राई, भगीरथ पोद्दार, दयानन्द गोश्वामी लगायतले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । यो क्षेत्रबाट महाधिवेशन प्रतिनिधिका रुपमा २५ जना चयन हुनेछन् ।
यसअघि ३ नम्बर क्षेत्रको प्रदेशसभा क्षेत्रीय समितिमा सबै पदमा सर्वसम्मत भएको छ । क्षेत्र नं. ३ (क) मा चिन्तामणि खरेल सभापति, पूर्णविक्रम भट्टरराई र भरत राजवंशी उपसभापति, दिलबहादुर कार्की र सागर खड्का सचिव तथा धनप्रसाद सिवाकोटी र रुद्रबहादुर तामाङ सहसचिवमा निर्विरोध चयन भएका छन् ।
त्यसैगरी, प्रदेश अधिवशेन प्रतिनिधिमा कृष्णकुमार मैनाली, प्रमिलादेवी कोइराला, टेकबहादुर लिम्बू खजुम, हस्तकला बेघा वनेम, मोहनसिंह राजजवंशी, अजय साहेवाला, अजिम मिया, ईन्द्रकुमार नेपाल, नारायण नेपाल, मनप्रसाद कोइराला, सुरेश गिरी, सञ्जीवकुमार राजवंशी, प्रविण घोष, गौरीमाया बिक र तौफिक अहमद शेख निर्विरोेध भएका छन् भने रिता दाहाल सुवेदी, शीला भट्टराई बराल र कमला दवाडी भने चुनावबाट छानिएका छन् ।
त्यस्तै, कांग्रेस झापा क्षेत्र नं १ को प्रदेश ‘क’को सभापति पदमा हरि बुढाथोकी र ‘ख’को सभापति पदमा सन्तोष न्यौपाने निर्वाचित भएका छन् । झापामा प्रतिनिधिसभाको ५ वटा र प्रदेश सभाको १० वटा निर्वाचन क्षेत्र छन् । जसमध्ये सबै प्रदेश क्षेत्रको निर्वाचन परिणाम आइसकेको छ ।
झापा क्षेत्र नं २ को प्रदेश ‘क’को सभापतिमा लक्ष्मी आचार्य र ‘ख’को सभापतिमा किरण श्रेष्ठ निर्वाचित भएका छन् भने क्षेत्र नं ३ को प्रदेश ‘क’ र ‘ख’को सभापतिमा क्रमशः चिन्तामणि खरेल र तुलसीप्रसाद ओली निर्वाचित भएका छन् ।
क्षेत्र नं ४ को प्रदेश ‘क’ र ‘ख’को चुनावी नतिजाअनुसार सभापतिमा पदमा क्रमशः विनोद ढकाल र ख्याम सिटौला निर्वाचित भए । त्यसैगरी क्षेत्र नं ५ को प्रदेश ‘क’ को सभापतिमा जीवनकुमार राई र प्रदेश ‘ख’को सभापतिमा रवि न्यौपाने विजयी भएका छन् । आजको समाचार साप्ताहिकमा खबर छ ।