झापामा विभिन्न घटनामा एक भारतीयसहित १० जना पक्राउ
झापा । झापामा विभिन्न घटनामा एक भारतीय नागरिकसहित १० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विदेशी मुद्रा, फरार, लागु औषध र जुवा तास खालबाट गरी १० जना पक्राउ परेको हो ।
प्रहरीका अनुसार भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट काठमाडौँ जान लागेका अवस्थामा भारत पश्चिम बंगाल घर भएका दुर्लव रोय चौधरी पक्राउ परेका छन् । विमानस्थलभित्र प्रहरीले चेकजाँचको क्रममा उनको साथबाट अमेरिकी मुद्रा (डलर) फेला परेको प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले जानकारी दिए ।
उनले बोकेको झोलाबाट सय डलर उल्लेख गरिएको २२६ थान अमेरिकी मुद्रा, भारतीय पासपोर्ट र आधार कार्ड फेला परेको हो । बरामद सामग्रीसहित उनलाई झापा जिल्ला अदालतबाट सातको दिनको म्याद थप गरी प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान गरिरहेको एसपी भट्टराईले जानकारी दिए ।
त्यस्तै वन पैदावार ओसारपसार मुद्दाका फरार साबिक खुदुनाबारी गाविस- १, हाल अर्जुनधारा नगरपालिका- १ निवासी ३६ वर्षीय रेशबहादुर एक्तेन पक्राउ परेका छन् । झापा जिल्ला अदालतको २०७१ चैत २९ गतेको फैसला बमोजिम बन पैदावार ओसारपसार मुद्दामा उनलाई एक महिना कैद र १ लाख २६ हजार ४०३ रुपैयाँ २० जरिवानासहितको सजाय सुनाएका थिए । अदालतको फैसला आएदेखि फरार भएका उनलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई कैद भुक्तानका लागि झापा कारागार चलान गरिसकेको जनाइएको छ ।
त्यसैगरी लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ताप्लेजुङ श्रृजंगा गाउँपालिका- ३ निवासी २० वर्षीया अनिसा भट्टराई र इलाम नगरपालिका- ६ निवासी २८ वर्षीय मनिस राई रहेको प्रहरीले जनाएको छ ।
अर्जुनधारा नगरपालिका- ११ बसपार्कस्थित ताप्लेजुङ होटेल (चिया नास्ता पसल) मा लागु औषध ब्राउन सुगरको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूको साथबाट ब्राउन सुगर फेला परेको हो । उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको छ । त्यस्तै जुवा तास खेलिरहेका ६ जना नगदसहित दमकमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा बुद्धशान्ती गाउँपालिका- ३ निवासी ४५ वर्षीय सोनी तामाङ दमक नगरपालिका- ४ निवासी ४७ वर्षीय शेर बहादुर कार्की, सोही ठाउँका ५३ वर्षीय रेवत बुढाथोकी, ४६ वर्षीय चेत बहादुर कुँवर, दमक- ९ निवासी ४६ वर्षीय रविन श्रेष्ठ र मोरङ उर्लाबारी- ६ निवासी ६६ वर्षीय विश्वराज पराजुली रहेको एसपी भट्टराईले जानकारी दिए । कार्कीले सञ्चालन गरेको सेकुवा कर्नर होटेलको कोठामा तास खेलिरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय। दमकबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो ।
प्रहरीले जुवा खालबाट नगद २ लाख ५६ हजार ३५० रुपैयाँ, एक बुक तास समेत फेला पारेको छ । पक्राउ उनीहरूलाई झापा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।