२०८३ बैशाख १० गते , विहीबार

देउकुमार थेबेको चुनावी प्यानल सार्वजनिक, यी हुन उम्मेदवार

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर ८ गते , बुधबार
देउकुमार थेबेको चुनावी प्यानल सार्वजनिक, यी हुन उम्मेदवार

झापा । नेपाली कांग्रसको १४ औं महाधिवेशन अन्तरगत सभापतिका प्रत्याशी उम्मेदवार देउकुमार थेबेले आफ्नो प्यानलका पदाधिकारीको टिम घोषणा गरेका छन् ।

देउकुमार थेबे जिताऊ अभियानको सचिवालयमा बुधवार बिहान पत्रकार सम्मेलनको आयोजना गर्दै सभापति पदका उम्मेदवार थेबेले आफ्ना टिममा रहेका पदाधिकारीको नाम सार्वजनिक गरेका हुन । 

सभापति पदका उम्मेदवार थेबेको टिममा उपसभापतिमा शेरबहादुर भट्टराई र केशवराज पाण्डे , सचिवमा कृष्ण हुमागाईँ र नवीन बिमली , सहसचिव कालेन्द्र राजवंशी र कमल भण्डारी उम्मेदवार रहेका छन् ।

आफ्नो टिम समावेशी र जुझारु भएको बताउँदै थेबेले सभापतिका उम्मेदवार थेबे क्षेत्र नं ४ , उपसभापति भट्टराई क्षेत्र नं ५ , उपसभापति पाण्डे क्षेत्र नं १ , सचिव हुमागाईँ क्षेत्र नं २ , सचिव बिमली क्षेत्र नं ३ , सहसचिव राजवंशी क्षेत्र नं ३ र अर्का सहसचिवका उम्मेदवार भण्डारी क्षेत्र नं ४ बाट रहेका छन्।

आफ्नो टिमको घोषणा गर्दै जिल्ला सभापतिका उम्मेदवार थेबेले १३ औं महाधिवेशनमा भएको भद्र सहमतिका आधारमा अग्रज नेताहरूको समर्थनमा आफ्नो साझा र सहमतिको उम्मेदवारी भएको थेबेले बताए ।  आगामी दिनमा पार्टीलाई चुस्त दुरुस्त बनाएर लैजान आफू नेतृत्वको टिमलाई जिताउन सम्पूर्ण क्षेत्रीय प्रतिनिधिसमक्ष उनले आग्रह समेत गरे ।

घोषणा कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले झापा काँग्रेसको नेतृत्वमा ‘बाघ’ नै आउने धारणा राखेका छन् । आन्तरिक अधिवेशनमा कसैको पनि हारजित नहुने भन्दै उनले आगामी आम निर्वाचनमा प्रतिपक्षीसँग भिड्न साङ्गठनिक एकता आवश्यक रहने बताए ।

उनले जिल्ला अधिवेशनमा कडा प्रतिस्पर्धा हुने भएकाले आफ्ना प्यानलका उम्मेदवारलाई जिताउन चुनावमा कटिबद्ध भएर लाग्न कार्यकर्ताहरूलाई आग्रह गरे। केन्द्रीय सदस्य सुधीरकुमार सिवाकोटीले राजनीतिमा भद्र सहमति हुने बताउँदै भद्र सहमतिको पालना गर्नुपर्नेमा जोड दिए।

नेपाली काँग्रेस झापाका सभापति उद्धव थापाले उम्मेद्वारहरुको परिचय गराउँदै देउकुमार थेबेको टिम जुझारु र समावेशी एवं शिक्षा, पत्रकारिता, राजनीति एवं सामाजिक क्षेत्रमा क्रियाशील ब्यक्तित्वहरुलाई जिताउन आग्रह गरे।

पार्टीका केन्द्रीय सदस्य गोपालकुमार बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व सांसद डिल्लीप्रसाद सिटौला लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन चित्रकला ओलीले गरेका थिए ।

सम्बन्धित समाचार