२०८३ बैशाख १० गते , विहीबार
काँग्रेस झापामा नवीन विमली नै किन ?
झापा । राजनीतिमा युवा – वर्तमानको खाँचो । जोस, जाँगर एवम् रचनात्मक सोचका साथ हरदम केही नयाँ र केही फरक काम गरौँ भन्ने हुटहुटी । समाज र राष्ट्र हितका लागि निरन्तर पहल गर्न उद्यत युवा वर्ग नै वस्तुतः राजनीतिका अभियन्ता बन्नुपर्ने समयको माग । र, आजका दिनमा युवा वर्ग नै नेपाली राजनीतिका विश्वस्त अभियन्ता बन्न सक्छन् ।
यही समय सन्दर्भमा सुदूर पूर्वी झापा जिल्लामा पनि युवाहरूको राजनीतिमा सहभागिता बढ्दै गएको पाइँदैछ । र, युवा पङ्क्तिको त्यही समूहमा राजनीतिको सिँढी चढ्दै गरेका एक जागरूक एवम् सक्रिय युवा नवीन विमली यति बेला आफ्नो जबरजस्त उपस्थिति दर्ज गर्दैछन् ।
२०५७ सालमा १८ वर्षको उमेरमा मेची बहुमुखी क्याम्पस, नेपाल विद्यार्थी सङ्घको इकाई सदस्य भएर विद्यार्थी राजनीतिमा पाइला टेकेका नवीन त्यसपछि सहसचिव, सचिव, सभापति हुँदै क्षेत्रीय सचिव र सभापति, झापा जिल्ला सचिव र ५ वर्ष जिल्ला सभापति रहेर निरन्तर नेतृत्व क्षमतामा आफूलाई काबिल साबित गरिसकेका छन् ।
त्यसयता २०६२-६३ को लोकतान्त्रिक आन्दोलनमा होमिएका उनी कैयौँ पटक थुनामा पनि परे । जस्तोसुकै असहज परिस्थितिमा पनि निडर भएर राजनीतिक मोर्चामा डट्नु उनको हक्की स्वभावको परिचय बनेको छ । आजसम्मको त्यही निरन्तरता, सहभागिता र सङ्घर्षले उनको छवि निर्माण गरेको छ । राजनीतिक सङ्घर्षबाट पछि नहट्ने र त्यसलाई परिमाणमुखी बनाउन लागिपर्ने उनको हक्की स्वभावले जिल्लाको काँग्रेस राजनीतिमा उनीलाई फरक पहिचान दिँदै परिचित गराइरहेको छ ।
यही मङ्सिर ६ गते सम्पन्न काँग्रेसको महाधिवेशन प्रतिनिधि समेतमा निर्वाचित नवीन भन्छन्– ‘मेरो अबको लक्ष्य भनेको पार्टीको जिल्ला सचिवमा उम्मेदवार बन्ने हो ।’
आजसम्मको राजनीतिक यात्रामा आफ्ना कुरा सोझो, दृढता र परिपक्व किसिमले राख्ने उनी राजनीतिमा अक्सर देखिने लप्पनछप्पन, चाकडी–चुक्ली र अर्काको बदख्वाइँ गरेर आफू मपाईँ बन्न खोज्ने शैली विरुद्ध छ । उनले आफू अहिलेसम्म आफ्नै बलबुतामा सङ्घर्षमा होमिएरै यहाँसम्मको राजनीतिक यात्रा तय गरेका छन् ।
अबका दिनमा आफ्नो लक्ष्य महामानव राजनेता काँग्रेसका संस्थापक बिपी कोइरालाको राजनीतिक दर्शनलाई मूल मन्त्र मानेर व्यावहारिक राजनीतिमा जोडिने रहेको बताउने युवा राजनीतिकर्मी नवीन ‘पार्टीमा पुरानो पुस्ताको योगदान र अनुभवलाई मार्गदर्शन मानेर नयाँ पुस्तालाई राजनीतिमा युगसापेक्ष रूपान्तरणमा दत्तचित्त हुने सोचमा आफू रहेको’ बताउँछन् ।