प्रदेश १ : प्रादेशिक सञ्चार प्रतिष्ठान र प्रदेश पर्यटन बोर्ड खारेज
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई नेतृत्व सरकारले अघिल्लो सरकारले निर्णय गरेको प्रादेशिक सञ्चार प्रतिष्ठान र प्रदेश पर्यटन बोर्ड खारेज गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो सरकारले निर्णय गरेका दुवै संरचना खारेज गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकले प्रदेश पर्यटन बोर्ड नियमावली २०७८ खारेज गर्ने नियमावली स्वीकृत गरेको छ। यो निर्णयसँगै उपाध्यक्ष फणिन्द्र अधिकारी समेत सबै सदस्य स्वतः पदमुक्त भएका छन्।
यसैगरी सोही बैठकले प्रादेशिक सञ्चार प्रतिष्ठान गठन, सञ्चालन तथा व्यवस्थापन नियमावली २०७७ तथा सो अन्तर्गत गठन भएको प्रादेशिक सञ्चार प्रतिष्ठानसमेत खारेज गर्ने निर्णय गरेको छ। बैठकले प्रतिष्ठानको चल अचल सम्पत्ति अधिकार र दायित्व आन्तरिक मामिला तथा कानुन मन्त्रालयको हुने निर्णयसमेत गरेको छ।
नेपाल पत्रकार महासंघले सुरुवातदेखि नै मन्त्री अध्यक्ष रहने गरी गठन गरेको प्रतिष्ठानको संरचना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रवर्धनमा बाधक हुने भन्दै विरोध र असहमति प्रकट गर्दै आएको थियो। प्रतिष्ठान खारेज भएसँगै कार्यकारी निर्देशकमा नियुक्त भएका यज्ञप्रसाद शर्मासहित सबै सदस्य स्वतः पदमुक्त भएका छन्।
मन्त्रिपरिषद् बैठकले प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम सञ्चालन नियमावली २०७८ तथा प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन २०७८ खारेज गर्ने नियमावली स्वीकृत गरेको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए।
बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली तयारीका लागि आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोको संयोजकत्वमा एक कार्यदल गठन गर्ने निर्णयसमेत गरेको छ। कार्यदलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कालिप्रसाद पराजुली र मुख्यमन्त्री कार्यालयका कानुन सचिव किशोरकुमार चौधरी सदस्य छन्।