एमाले महाधिवेशन : संशोधित विधान बन्द सत्रबाट पारित, सर्वसम्मत गर्न ओलीको आग्रह
चितवन । सौराहामा जारी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको जारी महाधिवेशनको बन्द सत्रबाट विधान पारित भएको छ। सचिवालयका पदाधिकारीको संख्या र केन्द्रीय समितिको आकार बढेकाले संशोधित विधान बन्द सत्रबाट पारित गरिएको हो।
१९ सचिवालय पदाधिकारीसहित केन्द्रीय समितिका सदस्यको मनोनयन भोलि (आइतबार) बिहान १० बजे गरिने बुझिएको छ। बन्द सत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालयका सबै १९ पदाधिकारीसहित केन्द्रीय समितिका ३ सय १ जना सदस्य सबै सर्वसम्मत चयन गर्न महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका छन्।
बन्द सत्रमा अध्यक्ष ओलीले पदाधिकारी चयनमा जबरजस्ती सहमति नगर्ने बताए। उनले विधानविपरीत गएर कसैसँग सहमति नगर्ने उनको भनाइ थियो। तर, चयन सर्वसम्मत हुनुपर्नेमा उनको जोड थियो। उनले निर्वाचनमा जानु भनेको समय लम्ब्याउने काम मात्र भएको बताए। उनले महाधिवेशनमा आएका सबै जना केन्द्रीय सदस्य बन्न नसक्ने भएकाले ३ सय १ जनालाई सर्वसम्मत रुपमा चयन गर्न आग्रह गरे। थाहाखबरबाट