सिटौलाको निर्वाचन क्षेत्रबाट मत नआउँदा कट्टेल पराजित, सभापतिमा थेबेसहित सिङ्गो प्यानल निर्वाचित
झापा । नेपाली काँग्रेस झापा सभापतिमा देउकुमार थेबे नेतृत्वको सिङ्गो प्यानल निर्वाचित भएका छन् । काँग्रेस नेता कृष्णप्रसाद सिटौला निकट थेबे नेतृत्वको प्यानलले पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा निकटका प्यानललाई पराजित गरेका हुन् ।
कडा प्रतिस्पर्धाका बिच अनन्त थेबेले शर्मा निकट सभापतिका उम्मेदवार रामबहादुर कट्टेललाई २५० मतान्तरले पराजित गरेका हुन । थेबेले १ हजार ७७५ मत ल्याएकोमा कट्टेलले १ हजार ५१५ मत ल्याएका थिए । नयाँ नेतृत्वका लागि झापामा शुक्रबार निर्वाचन भएको थियो ।
निर्वाचनमा ३ हजार ३११ मत खसेको थियो । २ हजार ७७० मत गन्दा सम्म शर्मा निकट कट्टेलले अग्रता कायम राखेको थियो । सो गणना क्षेत्र नम्बर १, २, ४ र ५ को सक्किएको थियो । त्यसपछि सिटौलाको निर्वाचन क्षेत्र ३ को मत गणनामा कट्टेल प्यानलको अग्रतालाई उल्ट्याउँदै थेबे प्यानलले अग्रता लियो । सो अग्रता कायम राख्दै सिटौलाकै क्षेत्रबाट खसेको मतले थेबे प्यानल विजयी भएको काँग्रेस नेताहरु बताउँछन् ।
त्यसैगरी थेबे प्यानलकै उपसभापतिमा केशवराज पाण्डेले सर्वाधिक मत ल्याएर निर्वाचित भएका छन् । उनले १ हजार ८८९ मत ल्याए । अर्का उपसभापति शेरबहादुर भट्टराईले १ हजार ६७४ मत ल्याई निर्वाचित भएका छन् । कट्टेल प्यानलका प्रेम सम्वाम्फेले १ हजार ४१५ र शमशेर गिरी ९केदार० ले १ हजार २२१ मत ल्याएका छन् । थेबे प्यानलका सचिवमा नवीन विमलीले १ हजार ८३८ र कृष्णप्रसाद हुमागाईँले १ हजार ६७६ मत ल्याई निर्वाचित भएका छन् । उनीहरूका प्रतिस्पर्धी विश्वदीप लिङदेनले १ हजार ४३१ र टुमलाल राजवंशीले १ हजार ३२१ मत ल्याए ।
उपसचिव पदमा थेबे पक्षकै कालेन्द्रप्रसाद राजवंशीले १ हजार ७६५ र कमलप्रसाद भण्डारीले १ हजार ६६० मत ल्याई निर्वाचित भएका छन् । उनीहरूका प्रतिस्पर्धी उमाराम प्रसाईँले १ हजार ३३७ र पदम लिम्बूले १ हजार ३४७ मत ल्याए । कोषाध्यक्ष पद भने मनोनीत गर्ने विधान रहेको जनाइएको छ । १४ औं महाधिवेशन अन्तरगत जिल्लामा अहिले पनि सिटौला पक्षकै हाबी देखिन्छ । तर, प्रवक्ता शर्मा पक्षका उम्मेदवारहरूको मत परिणाम हेर्दा शर्माले पनि जिल्लामा आफ्नो सङ्गठन विस्तार बलियो बनाउँदै लगेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।