२०८३ बैशाख १० गते , विहीबार
आमाको कुटपिटबाट छोराको मृत्यु
झापा । मोरङको कटहरी गाउँपालिकामा कान्छी आमा र बहिनीको कुटाइबाट छोराको मृत्यु भएको छ । कटहरी गाउँपालिका–५ का ३५ वर्षीय राजेन्द्रप्रसाद उराउको कान्छी आमा र बहिनीको कुटपिटबाट आइतबार राति मृत्यु भएको हो ।
मादक पदार्थ सेवन (मापसे) गरेर आएका राजेन्द्रले गत शनिवार राति घरमा झैझगडा गरेका थिए । झगडा हुँदा राजेन्द्रले कान्छी आमा ५५ वर्षीया बातियो उराउलाई कपाल भुत्ल्याइँदै घाँटी न्याकेका थिए । प्रतिकारमा उत्रिदा आमा बातियो र बहिनी ३० वर्षीया रिता उराउले बाँसको लट्ठीले राजेन्द्रलाई कुटपिट गरेको खुलेको छ ।
कुटाइबाट टाउकोमा गम्भीर चोट लागेर घाइते भएका राजेन्द्रको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । घाइते भएका राजेन्द्रप्रसादलाई उपचारका लागि शनिवार राति नै विराटनगरको कोसी अस्पताल भर्ना गरिएको थियो ।
सामान्य उपचारपछि परिवारका सदस्यले राजेन्द्रलाई घरमा लगे राखे । घटनाका बारेमा ढिलो गरी जानकारी पाएपछि घटनास्थलमा पुगेको प्रहरीले आइतबार राति पुनः राजेन्द्रलाई उपचारका लागि नोबेल शिक्षण अस्पतालमा भर्ना गर्यो ।
उपचारकै क्रममा राति १०ः१५ बजेतिर उनको मृत्यु भएको डिएसपी श्रेष्ठले बताए । कुटपिट गरेर राजेन्द्रप्रसादको हत्या आरोपमा कान्छी आमा बातियो र बहिनी रितालाई प्रहरीले पक्राउ गरी घटनाका बारेमा अनुसन्धान थालिएको डिएसपी श्रेष्ठले जानकारी दिए । राजेन्द्रको जेठी आमा सानैमा मृत्यु भएको थियो । त्यसपछि उनका बुवाले कान्छी आमा ल्याएका हुन् । मृतक राजेन्द्रप्रसादका दुई जना छोरा रहेका छन् ।