२०८३ बैशाख १४ गते , सोमबार

राप्रपाको केन्द्रीय सदस्यमा निश्चल दाहालको उम्मेदवारी

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर १६ गते , विहीबार
राप्रपाको केन्द्रीय सदस्यमा निश्चल दाहालको उम्मेदवारी

झापा । विगत ११ वर्ष देखि वैदेशिक रोजगारीको सिलसिलामा युएई मा रहेका निश्चल दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाडौँमा भई रहेको एकता महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन्। 

१८ वर्ष देखि राजनीतिमा सक्रिय रहेका दाहाल सामाजिक कार्यमा पनि अग्रसर रही एनआरएनए युएई मा एक कार्यकाल युवा संयोजक र हाल महासचिव पदमा कार्यरत छन्।  नेपाली राजनीतिप्रति युवाहरूको बढ्दो वितृष्णा देखेर अबको आवश्यकता युवा पुस्ताको राजनीतिमा सक्रियताको नारा लिएर उनी चुनावी मैदानमा होमिएका हुन् ।  देशले अब परिवर्तन खोजेको छ, उदारवादी चरित्रका राजनीतिज्ञ चाहेको छ। लोभ लालचमा नपरी समाजलाई दिने मात्र सङ्कल्प बोकेको त्यागी युवा मागेको छ भन्ने दाहालको ठम्याइ छ।  युवाहरूको साथ लिएर जनताको नेता हैन, सेवक हुन त्यसैले राजनीतिमा होमिएको हो, दाहाल थप्छन्।  आज आफूले राजनीतिको कखरा पनि नसिक्दै देखि नेतृत्वमा रहनु भएका नेतागणहरुले अझ नेतृत्वमा दाबी गरी रहेको देख्दा, पुस्ता हस्तान्तरण कहिले हुने हो भनी दाहाल प्रश्न गर्छन्। 

झापा जिल्ला कचनकवल गाउँपालिका-६ मा बसोबास गर्ने दाहालले सोही निर्वाचन क्षेत्रका, राप्रपाका एक मात्र सांसद, राप्रपा नेपालका अध्यक्ष पदका प्रत्याशी, राजेन्द्र प्रसाद लिङ्देनको प्यानलबाट आफू केन्द्रीय सदस्य पदमा दावेदारी दिएका हुन।  'मलाइ राजेन्द्र दाइको शालीनता, भ्रष्टाचार विरुद्धको कठोरता र परिवर्तन प्रतिको बफादारता मन पर्छ, म राजेन्द्र दाइको साथ हिँडेर मेरो आफ्नो क्षेत्र मात्र हैन, सम्पूर्ण देशको परिवर्तन गर्न अग्रसर हुन्छु,' दाहालले थपे। 

पहिचानको मुद्दा जुरमुराएको समयमा, आदिम सभ्यता बोकेको हिन्दु धर्मावलम्बीहरूको पहिचान विश्व जगतमा नेपालले मात्र बोक्न सक्ने र यो नै विश्वमा नेपालको चिनारी बन्नेमा विश्वस्त दाहाल, आफूलाई मतदान गरेर कसैले पनि पछुताउन नपर्ने बताउँछन्।  राजेन्द्र लिङ्देनको अध्यक्षतामा बन्ने केन्द्रीय समितिमा रही राप्रपा नेपाललाई देशको अत्यावश्यक शक्ति बनाउन सम्पूर्ण प्रतिनिधिहरूमा दाहालले आव्हान गरेका छन्।

सम्बन्धित समाचार