भारतमा चक्रवात ‘जवाद’को खतरा, केही राज्यमा हाई अलर्ट
एजेन्सी । दक्षिण अण्डमान र बङ्गालको खाडीमा बनेको चक्रवात ‘जवाद’को खतराले भारतको धेरै राज्यमा चिन्ता बढाएको छ । बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्र शुक्रबार चक्रवातमा परिणत हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो डिसेम्बर ४ सम्म ओडिशा र आन्ध्रको तटीय क्षेत्रमा पुग्ने सम्भावना छ ।
यस पटकको चक्रवातको नाम साउदी अरबले दिएको छ । अरबीमा जवादको अर्थ उदार वा दयालु हो। यसले आगामी १२ घण्टामा ठुलो रूप लिनेछ। यो उत्तर९आन्ध्र र दक्षिण९ओडिशा माथि उत्तर पश्चिम दिशामा सर्नेछ। त्यसपछि यसको दिशा परिवर्तन हुनेछ। आन्ध्र, ओडिशा र बङ्गाल यस चक्रवातबाट बढी प्रभावित सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । सुरुमा हावाको गति ४० देखि ५० किलोमिटर प्रतिघण्टा हुने अनुमान गरिएको छ । यसपछि डिसेम्बर ४ पछि हावाको गति ७० देखि ९० किलोमिटर प्रतिघण्टा हुनसक्छ । शुक्रवारदेखि प्रभावित क्षेत्रमा वर्षाको सम्भावना हुने जनाएको छ ।
यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चक्रवातको विनाशसँग जुध्न भइरहेको व्यवस्थाको समीक्षा गरेका छन् । यस क्रममा उनले केन्द्र र राज्य निकायलाई उद्धार कार्यसँग सम्बन्धित धेरै निर्देशन दिए। प्रधानमन्त्रीले चक्रवातका कारण जनधनको क्षति हुन नदिने हर सम्भव प्रयास गर्ने बताए ।