राजेन्द्र लिङ्देनको नाममा खुल्लापत्र
राजेन्द्र दाइ नमस्कार, अधिवेशनको धप्पकीबाट आराम पाउनु भएको होला । हुन त यो आन्तरिक प्रतिस्पर्धा थियो, यथास्थितिवाद कि परिवर्तन भन्नेमा, तपाईँको अथक प्रयास, सिनियरहरु प्रतिको सम्मान र आदर्शका बोलाइ अनि व्यवहारले नेतृत्व तपाईँले बुनेको नारा अनुसार नै आएको छ।
जित हार प्रक्रिया मात्र हो, जित पश्चताको निरंतरताले मात्र जितको सार्थकता देखाउँछ, हैन र ? यो पत्र समय मिलाएर पुरै पढिदिनु होला। म एक उदाहरण पात्र मात्र हो, म जस्ता सयौँ युवाहरू विभिन्न फरक राजनीतिक प्रशिक्षण पाएको र नीति अवलम्बन गरेकाहरू आज तपाईँको साथमा छन्। यही दशैको घटस्थापनाका दिन तपाईँको हातबाट राप्रपाको सदस्य लिएको म, १८ बर्से काँग्रेसको जीवनप्रति एक पटक पनि फर्केर हेरिन, किन ? किनकि तपाईँका ती शब्दहरू र तपाईँले कल्पेका योजनाहरू सुनेर। तर परीक्षाको घडी त अब सुरु हुँदै छ नि हैन ?
एक बेग्लै, आफैमा एउटा इतिहास बोकेका पूर्व अध्यक्ष कमल थापालाई प्रजातान्त्रिक प्रक्रियामा हराउनुभयो तर हाल थापा ज्युको व्यवहारले वहाँको जीवन नै हराउनु भयो तपाईँले भन्ने देखिँदै छ। प्यानल छुटाएर उठेका प्रतिनिधिमध्ये करिब ६५-७० प्रतिशतको हाराहारीमा कमल थापा ज्युको प्यानलले जित हासिल गरेको छ । तर त्यो जित राप्रपाको नै हो भनेर तपाईँले बुझाउन सक्नु हुनेछ भन्नेमा म भने आशावादी छु।
६२-६३ को कथित जनाअन्दोलनमा राजा हटाउन भनी मैदानमा होम्दिदा म आफू पनि घाइते भएको हो तर हालको परिस्थितिमा राजसंस्था बिना हामी वास्तवमा नै टुहुरो रहेछौ भनेर मैले भने बुझ्न सके र आफ्नो गल्ती सुधार्न तपाईँसँग साथमा हिँड्ने प्रतिबद्धता त मैले गरेको नै छु।
नेपालका राजनीतिक दलहरूमा राप्रपा मात्र एक दल छ । जसले कन्जर्भेटेभ तर अत्यावश्यक मुद्दा बोकेर हिँडेको छ । अब गणतन्त्र भनेर बोलिरहने दलहरूको बिचमा त्यही व्यवस्थाबाट हामीले आफ्नो एजेन्डा स्थापित गर्न सकौला तरु चुनाव प्रजातान्त्रिक प्रतिस्पर्धा नेपाली सभ्यतामा कहिल्यै थिएन । तिक्डमबाजी, जालझेलको नतिजा मात्र स्थापित हुन्छ । नेपाली चुनावबाट, अब के तपाईँ त्यही चुनावबाट हाम्रो एजेन्डा स्थापित गर्न सक्नुहुन्छ होला त ?
दाजु, परिवर्तन पश्चात् पूर्व अवस्थाको अवशेष जहिल्यै रहन्छ, कहिले त त्यो अवशेष मात्र नभएर एक दरिलो र गर्विलो शक्ति बिना आवाज बाध्यात्मक रुपमा परिवर्तनलाई आत्मसात् गरी बसिरहेको हुन्छ। यसो घुमेर हेर्नुहोस् त अवशेष मानिएको राजसंस्था र हिन्दु राज्यको पक्षमा कति जनलहर छ ? ढुक्क हुनुहोस् दाजु, मनग्य छ।
प्रदेश १ को अधिवेशनको दौरान, कमल थापाज्युले अबको दुवै चरणको चुनाव (स्थानीय, संसदीय) हामी आन्दोलनको मैदानबाट लड्छौ भन्नू भएको थियो, त्यसमा तालिका आवाज पुरै दमक हल्लाउने गरी थियो, त्यो ताली हैन ऐक्यबद्धता थियो। ल दाजु, तपाईँ आज त्यो स्थानमा हुनुहुन्छ, त्यो एजेन्डालाई मूर्त रूप दिनुहोस् त, तपाइको साथ कस्तो लहर आउने रहेछ ।
नेपालको राजनीति परिवर्तन विदेशी मनोकाङ्क्षा अनुरूप हुन्छ, जर्मनीका मार्क्स, चाइनाका मावो, रुसका लेनिनको नीतिले नेपाललाई चलाउन सक्दैन। आफ्नै माटो सिञ्चित र खारिएको हाम्रो गर्विलो इतिहास बोकेको व्यवस्था हामीलाई चाहिन्छ। हामीले तानासाह खोजेको हैन, संसदीय राजसंस्था मागेका छौ । जुन न ब्यालोटबाट आउँछ न कलमको क्रान्तिबाट। यो सडकबाट जनमत लिएर सडकबाट नै मात्र सम्भव छ।
आन्दोलन भन्दैमा हत्याहिंसा नै त हैन नि, हामीले गणतन्त्रको काँधमा चढेर कुल्चन नसके हाम्रो मुद्दा स्थापित हुँदैन। दाइ, आज तपाईँ अध्यक्ष हुँदै गर्दा विभिन्न समयमा पार्टीले आफ्नो लाइन छोडेको भनी बाहिर बस्ने सयौँको घर फिर्ती जारी छ, यो तपाईँ प्रतिको विश्वास हो र भरोसा हो, यसलाई नतोड्नु होला।
हरेक गाउँ बस्तीमा पुगेर यदि राजसंस्थाको बारेमा, हाम्रो हिन्दु पहिचानको बारेमा नबोल्ने हो भने, हामी पञ्चेहरूको पार्टीमा सीमित हुन्छौ। ६२-६३ का बालखहरू आज गणतान्त्रिक सिद्धान्तबाट प्रशिक्षित छन्, राज संस्था उनीहरूको लागि नारायण हिटीको म्युजियम मात्र हो, उनीहरूलाई बुझाउन उनीहरूकै उमेर समूहका युवा चाहिन्छ जसले बुझाउन सकोस् कि त्यो तत्कालीन परिवर्तन धोका थियो र विदेशी एजेन्डा थियो।
दाइ राप्रपामा बसेर हलोमा एक भोट हाल्न मात्र भनेर पार्टी प्रवेश गर्नेहरू छैनन्, जसले बिचार परिवर्तन गरेर आज आए ती लडाकु हुन, योद्धा हुन र क्रान्तिकारी हुन, हामी जस्ता ती व्यक्तिहरूलाई अब चलायमान हुने अवसर तपाईँको नेतृत्वले दिलावोस। पुरातन शैलीकै नातावाद र कृपावादले तपाईँको कार्यकाललाई नढाकोस्। तपाईँ सेनापति भएर हिड्नुहोस त परिवर्तनको युद्द्मा, हामी नेपाललाई नेपाली माटो सुहाउने राजनीतिक परिवर्तन दिने छौ।
तपाईँको टिमले सुरुवात गरेको सम बिचारका शक्तिसँग वार्ता गर्ने अभियान सम्मान योग्य छ तर ती शक्तिसँग गरिने वार्ता पार्टीको पद विभाजनमा लगेर हैन, सडकमा मोर्चा विभाजनमा केन्द्रित होस। आज अन्य बिचार नै बोकेका किन नहुन, हर कोहीको मुखमा तपाइको नाम छ किनकि पुस्तान्तरणलाई व्यवहारमा तपाईँले उतार्नु भयो। एउटा उखान छ निूआश लाग्दो केटो जेठाजु पर्यो, त्यो तपाईँमा लागू हुँदैन भन्नेमा म विश्वस्त छु।
दाजु, अन्त्यमा तपाईँलाई सफल कार्यकालको शुभकामना दिन चाहन्छु तर मेरो नजरमा तपाईँको कार्यकाल तब मात्र सफल हुन्छ, जब तपाईँले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्नु हुनेछ र त्यही आन्दोलनको जगमा, यही गणतन्त्रवादिहरुले आयोजना गर्ने चुनावमा होम्मिएर त्यही मार्गबाट हामी आमन्त्रित गणतन्त्रलाई साफ गर्न सक्छौ। आज मैले धेरै लेखिन, पुनः अर्को पत्र चाडै पठाउने नै छु। तब सम्मलाई बिदा मागे। धन्यवाद ।
उही तपाईँको भाइ, निश्चल दाहाल (कचनकवल) झापा,