२०८३ बैशाख १० गते , विहीबार

झापामा मोबाइल तथा गरगहना चोरी गर्ने दुई जना पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर २५ गते , शनिबार
झापामा मोबाइल तथा गरगहना चोरी गर्ने दुई जना पक्राउ

झापा । गाउँघरमा मोबाइल तथा गरगहना चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका- ५ निवासी १८ वर्षीय कल्याण श्रेष्ठ र  जिल्ला सुनसरी धरान उपमहानगरपालिका- २२ पञ्चकन्या निवासी २८ वर्षीय मनकुमार विक रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । 

प्रहरीका अनुसार मेचीनगर नगरपालिका- ९ स्थित तल्लो मागुरमाडी बस्ने माधवप्रसाद घिमिरेको घरबाट एउटा नोकिया कम्पनीको मोबाइल, सोही ठाउँका सङ्गीता लिम्बुको एउटा आइटेल कम्पनीको मोबाइल र सोही ठाउँका झुमादेवी ढुङ्गाना आचार्यको घरमा पाहुना आएकी अर्जुनधारा नगरपालिका- ११ निवासी शोभा देवी ढुङ्गानाको चार थान सुनको औँठी, एक थान पञ्चरत्न बाला दुई थान कानमा लगाउने सुनको टप, एक थान माइली तिलहरी चोरी भएको थियो । 

मोबाइल तथा गरगहना घरबाटै चोरी भएपछि पीडितहरूले इलाका प्रहरी कार्यालय धुलाबारीमा उजुरी दिएका थिए । प्रहरीमा उजुरी परेपछि खोजतलास गर्ने क्रममा श्रेष्ठलाई मेचीनगर- १० नन्दा पेट्रोल पम्प नजिकैबाट र विकलाई मेचीनगर- ९ खुट्टेडाँगीबाट शुक्रबार दिउँसो पक्राउ गरिएको डिएसपी पाठकले बताए । 

प्रहरीले उनीहरूको साथबाट चोरी गरेका सरसामान पनि बरामद गरेको छ ।  यता पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार