२०८३ बैशाख १० गते , विहीबार
किलर फिल्मी शैलीमा प्रेमीसँग मिलेर आफ्नै श्रीमतीले गरिन् दमकका सिग्देलको हत्या
झापा । धरानस्थित जंगलमा अलग–अलग जेब्रा झोलाभित्र शवको टुक्रा फेला परेका दमक नगरपालिका–५ ठेगाना भएका ४३ वर्षीय दिनेश सिग्देलको हत्या आफ्नै कान्छी श्रीमतीले परपुरुषसँग मिलेर गरेको खुलेको छ।
दमक नगरपालिका–५ ठेगाना भएका ४३ वर्षीय दिनेश सिग्देलको हत्या उनकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसीको योजनामा भएको पत्ता लागेको हो। सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार हत्यामा संलग्न अनिता र उनका प्रेमी विराटनगर महानगरपालिका–४ इक्राहीका २९ वर्षीय सरोज भण्डारीलाई पक्राउ गरिसकिएको छ । पक्राउ परेका विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट मङ्गलवार म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको थापाले जानकारी दिए।
बीभत्स तरिकाले हत्या गरेपछि शरीरलाई टुक्रा टुक्रा बनाउँदै जेब्रा झोलाभित्र प्याक गरेर सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित धरान–भेडेटार सडक खण्डको जंगलमा फ्यालिएको अवस्थामा एक साताअघि दिनेशको शव भेटिएको थियो। घाँटीभन्दा माथि टाउकाको भाग र तिघ्रामुनिको दाहिने खुट्टा प्याक गरेर फ्यालिएको एउटा झोला गत बुधवार भेटिएको हो। भोलिपल्ट अर्थात् बिहीबार करिब १ किलोमिटरमाथि जीउसहितका अन्य अङ्गहरू प्याक गरिएको अर्को झोला पनि भेटियो।
घटनास्थल धरान बजारबाट लगभग ७–८ किलोमिटर उत्तरमा पर्छ । कुहिएर दुर्गन्ध फैलिएको अवस्थामा भेटिएको शवको पहिचान तत्काल खुलेन। सोमबार साँझ पहिचान खुलेपछि प्रहरी हत्यारासम्म पुग्न सफल भएको हो। घटनालाई निष्कर्षमा पु¥याउनका लागि इलाका प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी, सङ्घीय इकाई प्रहरी कार्यालय धरान र प्रदेश १ प्रहरी कार्यालय विराटनगरबाट संयुक्त टोली परिचालन गरिएको थियो।
एसपी थापाका अनुसार दिनेश अघिल्लो वर्ष पुसमा वैदेशिक रोजगारीका लागि बहराइन गएको खुलेको छ। स्वास्थ्यमा समस्या भएर कम्पनीले बिदा दिएपछि उनी गत पुस २० गते नेपाल फर्किएको उनले बताए। काठमाडौँ आएको भोलिपल्ट विराटनगर आएपछि कान्छी श्रीमतीसँग उनको भेट भयो। त्यो रात दुवै जना विराटनगरकै फेमिली होटेल एन्ड लजमा बसे।
प्रहरीका अनुसार डेरा खोजेर कान्छी श्रीमतीलाई विराटनगर–३ पिपल चोकमा राखेर उनी बहराइन गएका थिए। होटेलबाट पुस २२ गते बिहान दिनेश कान्छी श्रीमतीको कोठामा आए। त्यही दिन साँझतिर कोठामै गलबन्दीले घाँटी कसेर अनिता र सरोजले दिनेशको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
एसपी थापाका अनुसार विदेशबाट आएर भेट भएको भोलिपल्टै अनिताले आफ्ना प्रेमीसँग मिलेर पति दिनेशको हत्या गरेको पत्ता लागेको छ। ‘हत्या गरेपछि रातभर शव कोठामै राखेछन्,’ उनले भने, ‘भोलिपल्ट अर्थात् पुस २३ गते हत्या गरिएकै कोठामा टुक्रा टुक्रा बनाएपछि टाउको र खुट्टाको भाग जेब्रा झोलामा प्याक गर्दै ट्याम्पोमा राखी धरानको जंगलमा पु¥याएर फ्यालेछन्। कोठामै छाडिएको शरीरको अरू भाग भोलिपल्ट व्यवस्थापन गरेको पाइयो।’
थापाका अनुसार टाउको र हातको भाग धरानको जंगलमा व्यवस्थापन गरेपछि अनिता र सरोज धनकुटाको भेडेटार गएर एक रात बसेको खुलेको छ। उनीहरू भेडेटारबाट भोलिपल्ट अर्थात् पुस २४ गते विराटनगर फर्किएको जानकारी थापाले दिए। उनका अनुसार भेडेटारबाट फर्किएपछि उनीहरूले कोठामै छाडेको शरीरको अरू भाग लगेर त्यही जंगलमा व्यवस्थापन गरेका हुन्।
शव लैजान प्रयोग गरिएको ट्याम्पोको नम्बर भने खुलेको छैन। हत्या गरेपछि खुकुरी र आल्मुनियम एवं रड काट्न प्रयोग गरिने ग्रेन्डर मेसिन किनेर काट्दै शवलाई टुक्रा पारिएको पाइएको एसपी थापाले बताए।
‘पति विदेशमा भएका बेला सरोजसँग अनिताको प्रेम बसेछ। फर्किएर आएपछि प्रेममा बाधक बन्ने देखेर योजनाबद्ध तरिकाले दुवै जनाले हत्या गरेको पाइयो,’ एसपी थापा भन्छन्, ‘शव एक रात कोठामै राखिएको रहेछ। भोलिपल्ट काटेर टुक्रा टुक्रा बनाउँदै जंगलमा लगेर व्यवस्थापन गरेको खुल्यो।’ उनका अनुसार गत दसैँदेखि अनिता र सरोज प्रेम सम्बन्धमा रहेका थिए।
सुनसरी प्रकाशपुर माइती भएकी अनितासँग दिनेशको १० वर्षअघि प्रेम विवाह भएको उनले बताए। कान्छी श्रीमतीतर्फ दिनेशकी ७ वर्षकी छोरी छन्। अनितासँग प्रेममा परेका सरोजको पनि श्रीमतीसँग घरबार बिग्रिएको पाइएको छ। प्रहरीका अनुसार श्रीमतीसँग सम्बन्ध विच्छेदको प्रक्रियामा रहेका उनी अनितासँग गत दसैँदेखि नियमित जसो बस्न थालेको खुल्यो।
अनिताले भने सरोजसँगको प्रेम सम्बन्ध थाहा पाएपछि दिनेशले मदिरा सेवन गरेर आफूमाथि कुटपिट गरेका कारण हत्या गरेको प्रहरीलाई बताएकी छन्।
इलामको बाँझो घर भएका दिनेश केही समयअघि परिवारसहित दमक बसाइँ सरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार २२ वर्षअघि बिहे गरेकी जेठी श्रीमती निर्मला सिग्देल भने छोराछोरीसहित झापाको झिलझिलेमा बस्दै आएकी थिइन्। जेठी श्रीमतीतर्फ दिनेशका दुई छोरा र दुई छोरी रहेको जानकारी प्रहरीले दिएको छ। विदेशबाट फर्किएपछि जेठी श्रीमतीसँग फोनमा सम्पर्क भएको तर भेट नभएको पाइएको एसपी थापाले बताए।
‘झोलामा शव भेटिएपछि तत्काल पहिचान खुलेन। सबैतिरबाट प्रमाण सङ्कलन गर्दै पहिचान खुलाउन सकिएका कारण प्रहरी हत्यारासम्म पुग्न सफल भयो,’ उनले भने, ‘चुनौती बनेर आएको घटनालाई निष्कर्षमा पु¥याउन सक्नु प्रहरीका लागि ठुलो उपलब्धि हो। सम्बन्धमा रहेका परपुरुषसँग मिलेर कान्छी श्रीमतीले वैदेशिक रोजगारीबाट फर्किएका पुरुषको हत्या गरेको पाइयो।’ थापाले घटनाको अनुसन्धान गर्दै शवको सनाखत र घटनाको वास्तविकता पत्ता लगाउनका लागि स्केच बनाउने, मुलुकभरका प्रहरी कार्यालयमा हुलिया परिपत्र गर्नेलगायतका धेरै मेहनत प्रहरीले गर्नु परेको जानकारी दिए।