भद्रपुरमा डेढ करोड लागतमा पुनः निर्मित काली मन्दिरको भव्य उद्घाटन
झापा । भद्रपुर–१० स्थित चन्द्रगढीमा पुनः निर्माण गरिएको काली मन्दिरको शनिबार विशेष पूजाआर्चना गरी भव्य उद्घाटन गरिएको छ।
स्थानीयस्तरमा धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले १ करोड ५२ लाख रुपैयाँ लागतमा पुनःनिर्माण गरिएको कालीमन्दिरको भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले उद्घाटन गरेका हुन्। पञ्चकन्या सहितका बटुकले स्वस्तिवाचन वाचन गरेपछि मेयर श्रेष्ठले विशेष पूजाआर्चना गरी मन्दिरको उद्घाटन गरे।
सङ्घीय सरकारको ९ लाख, भद्रपुर नगरपालिकाको २७ लाख र दाताहरूको सहयोगमा १ करोड ५२ लाखको लागतमा मन्दिर पुनः निर्माण गरिएको काली मन्दिर निर्माण समितिका संयोजक भीम पौडेलले बताए।
२०७६ साल मङ्सिर २१ गते शिलान्यास गरिएको मन्दिर २७ महिनामै पुनःनिर्माण गरी सञ्चालनमा ल्याएको उनले बताए। प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले मन्दिर पुनःनिर्माणले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने निर्माण समिति सदस्य धनप्रसाद सिवाकोटीले बताए।
मन्दिर निर्माण समितिका संयोजक पौडेलको अध्यक्षता तथा मेयर श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, नगरपालिकाकी उपमेयर चन्द्रमाया श्रेष्ठ, नेकपा एमाले झापाका उपसचिव असारु राजवंशी, नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति गणेश पोखरेल, पण्डित कुबेरप्रसाद सुवेदी, राजयोग सेवा समितिकी शान्ति दिदी लगायतले धर्म संस्कृति बिर्सन नहुने बताए।
मन्दिर व्यवस्थापन समितिकी सचिव यशोदा कोइरालाले सञ्चालन गरेको कार्यक्रममा निर्माण समितिका उपाध्यक्ष मुरारी खरेलले स्वागत मन्तव्य राखेका थिए। वि.सं. २०२१ मा बाँसको टाटी बेरा गरी स्थापित काली मन्दिर २०२७ सालमा थप व्यवस्थित गरिएको थियो। मन्दिर जीर्ण भएपछि काली मन्दिर व्यवस्थापन समितिले स्थानीयस्तरको सहयोगबाट मोरङको रङ्गेलीस्थित काली मन्दिरजस्तै भव्य मन्दिर बनाएको छ।
मन्दिरभित्र काली, दुर्गा, गणेश, लक्ष्मी, सरस्वतीका ठूला मूर्ति भारतको राजस्थानबाट र सोहीअनुरूपका अन्य साना मूर्ति भारतको सिलिगुडीबाट खरिद गरी ल्याएको व्यवस्थापन समितिका उपाध्यक्ष मोहन कुमाईंले जानकारी दिए।