२०८३ बैशाख १० गते , विहीबार

अर्जुनधारामा गौरी मन्दिर र १०८ शिवलिङ्गको निर्माण कार्य अन्तिम चरणमा

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन २२ गते , आईतबार
अर्जुनधारामा गौरी मन्दिर र १०८ शिवलिङ्गको निर्माण कार्य अन्तिम चरणमा
(अमित खम्बू) झापा । पूर्वको पशुपतिनाथले परिचित एवम् नेपाल सरकारको ‘सय पर्यटकीय गन्तव्य’मा सूचिकृत झापाको अर्जुनधारा–७स्थित अर्जुनधारा जलेश्वर धाममा निर्माण भइरहेको गौरी मन्दिर तथा १०८ शिवलिङ्गको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

गत वर्षको महाशिवरात्रि पर्वका दिन शिलान्यास भएको उक्त गौरी मन्दिर तथा १०८ शिवलिङ्ग बिर्तामोड–३ निवासी दाता कमलंझुमा बस्नेतको लगानीमा निर्माण भएको धामका मूल अर्चक अग्निप्रसाद सिग्देलले जानकारी दिए ।

उक्त दुवै योजना धाम व्यवस्थापन समितिले तयार पारेको गुरुयोजनामा उल्लेख भए अनुसार नै निर्माण कार्य भइरहेको समितिका सदस्य एवम् योजनाका डिजाइनर शंकर सुवेदीले बताए । अनुमानित डेढ कट्ठा जमिनमा प्यागोडा शैलीमा निर्माण भइरहेको गौरी मन्दिरको उचाइ गजुर बाहेक ३० फिटको हुने र १०८ शिवलिङ्ग रहेको स्थलमा १५० मिटर लामो नागबेली आकारको परिक्रमा मार्ग हुने बताइएको छ ।

विभिन्न शिवालयहरूमध्ये यस धाममा आकर्षक पूर्वाधारसहित निर्माण भइरहेको १०८ शिवलिङ्ग र गौरी मन्दिर प्रदेश नं।१ कै पहिलो हुने सदस्य सुवेदी दाबी गर्छन् । हालसम्म ७० प्रतिशत कार्य सम्पन्न भई मन्दिरको छानामा ताम्रपत्र लगाउने, टुँडाल राख्ने, शिवलिङ्गको लागि आवश्यक बेस राख्ने आदि कार्य बाँकी रहेको बताइएको छ ।

महावीर कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको उक्त योजनाको लागत अनुमानित ७० लाख रुपैयाँ बढी लाग्ने बताइएको छ । चालु आर्थिक वर्ष भित्र दुवै योजना पूर्णरुपमा सम्पन्न गरी आगामी महाशिवरात्रि पर्वका दिन उद्घाटन कार्यक्रम पश्चात् धाम व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने लक्ष्य दाता परिवारको रहेको बताइएको छ ।

सम्बन्धित समाचार