२०८३ बैशाख १० गते , विहीबार
जागिर दिने बहानामा रकम असुल्ने ९ जना पक्राउ
झापा । काठमाडौँको विभिन्न स्थानमा जब सेन्टरहरू स्थापना गरी विभिन्न काममा जागिर लगाइदिने बहानामा ठगी गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको विशेष प्रहरी टोलीले कोटेश्वर, नयाँ बानेश्वर, चाबहिल, बालाजुलगायत स्थानबाट आइतबार उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नयाँ बानेश्वरस्थित सोसाइटी वेलफेयर फेसिलिटिज म्यानेजमेन्ट सर्भिस प्रालिका सञ्चालक अमर पाण्डे, पेप्सीकोला बस्ने तिलकराम पाण्डे, बालाजुस्थित दूध पोखरी जब प्लेसमेन्ट एन्ड ट्रेनिङ सेन्टरका सञ्चालक आनन्द मरहठ्ठा, कोटेश्वरस्थित एनएन मल्टिपर्पोज प्रालिका सञ्चालक विवेक यादव छन्।
यसैगरी, अन्य पक्राउ पर्नेमा काठमाडौँ ३२ एबिएस जब ट्रेनिङ सेन्टर प्रालि र हलेसी सेक्युरिटी सर्भिस प्रालिका सञ्चालक अश्विन राई, सिन्धु रोजगारी सेवा कोटेश्वरका सञ्चालक घनश्याम पहाडी, चाबहिलस्थित प्राश्ना जब इन्टरनेसनल मल्टिपर्पोज प्रालिकी सञ्चालिका सिर्जना लामिछाने, क्वीकमाण्डु एमपी प्रालिकी सञ्चालिका ज्ञानु न्यौपाने र अनमोल जब मल्टिपल प्रालि कोटेश्वरका सञ्चालक रामवचन कुमार यादव छन्।
महाशाखाका अनुसार जब सेन्टरहरूले विभिन्न स्थानमा जब प्लेसमेन्ट कम्पनीहरू दर्ता गर्ने र सामाजिक सञ्जाल, पत्रपत्रिका, प्रचार पम्पलेटका माध्यमबाट घरमै बसी जागिर मिल्छ भनी प्रचारप्रसार गरी जागिरका लागि उक्त जब सेन्टरको सम्पर्कमा आउने व्यक्तिहरूलाई फारम भर्ने बहानामा ३०० देखी५०० सम्म फारम चार्ज र १ हजारदेखि ६ हजार सम्म जब ग्यारेन्टी शुल्क लिने गरेको पाइएको छ।
फारम भर्ने व्यक्तिहरूलाई विज्ञापनमा भने अनुसारको काममा नलगाउने र जागिरमा लगाइहाले पनि तोकिए बमोजिम तलब र सुविधा नदिई केही समयमा नै उक्त जागिर छोड्न बाध्य बनाउने गरेको पाइएको छ।
यस्तै, एक जब सेन्टरमा फारम दर्ता गरिसकेको व्यक्तिलाई तपाईँको जागिर पक्का भइसकेको छ भनी एक जब सेन्टरबाट अर्को जब सेन्टरमा पठाएर त्यहाँ समेत फारम शुल्क असुल्ने गरेको पाइएको छ।
पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि नयाँ बानेश्वर वृत्त र बालाजु वृत्तमा पठाइएको महाशाखाले जनाएको छ। उपत्यकाका विभिन्न स्थानमा जागिर लगाइदिने प्रलोभनमा ठगी भइरहेको पाइएकाले रोजगारदाता कम्पनीको पृष्ठभूमि अध्ययन गर्न आम सर्वसाधारणलाई महाशाखाले अनुरोध समेत गरेको छ।