बिर्तामोडमा मोटरसाइकल चोरी गर्ने गिरोहका नाइकेसहित ६ जना भद्रपुरमा पक्राउ
(पार्थ मण्डल) झापा । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडबाट मोटरसाइकल चोरी गर्ने गिरोहका मुख्य नाइकेसहित ६ जना पक्राउ परेका छन् । पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाले बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन् । मोटरसाइकल चोरीमा संलग्न सबै भद्रपुरका रहेका छन्.।
पक्राउ पर्नेहरूमा मुख्य नाइके भद्रपुर नगरपालिका– ७ निवासी २१ वर्षीय प्रकाश सहनी, सोही ठाउँका २४ वर्षीय प्रकाश दर्जी, २१ वर्षीय दीपक उराउ, २२ वर्षीय दीपेश राजवंशी, भद्रपुर १ निवासी ३० वर्षीय बिर्ख लिम्बु र भारत किशनगञ्ज जिल्ला बिरखोर घर भई हाल भद्रपुर– ६ मा समिम ग्यारेज सञ्चालन गर्ने १९ वर्षीय मोहम्मद समिम रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।
प्रहरीले उनीहरूको साथबाट चोरीका सात वटा मोटरसाइकल समेत बरामद गरेको छ । पाँच वटा पल्सर, एउटा अपाची र एउटा सुपर स्प्लेन्डर मोटरसाइकल रहेको छ । बरामद गरिएका सात वटा मोटरसाइकलमध्येका ६ जना सवारी धनी सम्पर्क आइसकेको डिएसपी पाठकले बताए । यता मोटरसाइकल चोरीमा संलग्न ६ जनालाई झापा जिल्ला अदालत भद्रपुरबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइसकेको उनले बताए ।
यसरी परे पक्राउ
बिर्तामोडका आसपासका क्षेत्रबाट दैनिक जसो मोटरसाइकल चोरीका घटना बढ्न थाल्यो । मोटरसाइकल धनीहरूले प्रहरी कार्यालयहरूमा चोरी सम्बन्धी उजुरी दिन थालेपछि प्रहरी कार्यालय झापाबाट खटिएका सादा पोसाकका प्रहरी टोलीले बिर्तामोड क्षेत्रमा निगरानी बढ्यो । प्रहरीले सूक्ष्म रुपमा अनुसन्धान गर्दा मोटरसाइकल चोरी गर्ने मुख्य नाइके प्रकाश सहनीको पहिचान गर्यो ।
त्यसपछि प्रहरीले सहनीमाथि निगरानी बढ्यो । सहनीले फागुन २३ गते दिउँसो सवा ३ बजेको समयमा बिर्तामोडस्थित एभरेस्ट बैंक शाखा कार्यालयको कम्पाउन्डमा पार्किङ गरी राखेको लु ८३ प ३५५४ नम्बरको पल्सर मोटरसाइकल चोरी गर्यो । सहनीले सो मोटरसाइकल लिएर भद्रपुरतर्फ मागे । ‘प्रहरीले उनलाई खेदाउँदै भद्रपुरबाट पक्राउ गर्यो,’ डिएसपी वसन्त पाठकले भने, ‘नियन्त्रणमा लिएर उनलाई सोधपुछ गर्दा अन्य संलग्न व्यक्तिहरूको बारेमा जानकारी गरायो ।’
त्यसपछि उनीहरूलाई पनि सोही दिन पक्राउ गरिएको उनले बताए । मुख्य नाइके सहनी, दर्जी, उराउ र राजवंशी चाहिँ मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न रहेको छ । उनीहरूले चोरी गरेर ल्याइएको मोटरसाइकलहरू लिम्बु र समिमले बेचबिखनका लागि मान्छे खोज्ने कार्यमा संलग्न रहेको छ । समिमले आफ्नो ग्यारेजमा लगेर त्यस्ता मोटरसाइकलको हुलिया परिवर्तन, नम्बर प्लेट हटाउने कार्य पनि गर्दै आइरहेको अनुसन्धानबाट खुलेको उनले बताए ।