नावालिकालाई जबरजस्ती करणी गरी हत्या गर्ने दुई जना पक्राउ
झापा । मोरङको सुन्दरहरैचा नगरपालिका–७ की डेढ बर्षीया नावालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा स्थानीय २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी रहेका छन् । फाल्गुन २७ गते बेलुका साँढे ५ बजे तिर घरबाट नै हराएकी बालिका साँढे ६ बजे घर नजिकै झाडीमा अचेत अवस्थामा फेला परेकी थिइन् ।
अचेत अवस्थामा फेला परेकी बालिकालाई तत्काल उद्धार गरी उपचारको लागि नोबेल अस्पताल लगिएकोमा उपचारको क्रममा सोही दिन राती उनको मृत्यु भएको थियो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गर्ने क्रममा बालिकालाई चौधरीद्धयले घरमा कोही नभएको मौका छोपी घरैबाट बोकेर झाडीमा लगेर जबरजस्ती करणी गरी अर्धचेत अवस्थामा सोही स्थानमा छाडेर फरार भएको खुलेसँगै दुवै जनालाई पक्राउ गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।