बिर्तामोडकी बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भारतीय युवक पक्राउ
बिर्तामोडमा यौन दुर्व्यवहार गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले भारत मणिपुर राज्यस्थित कानखोपी इराङ २५ बस्ने २५ वर्षीय मदन बुढाथोकीलाई पक्राउ गरेको हो ।
चैत ५ गते होलीका दिन बिर्तामोडको होटेल हिकोला हेरिटेज अगाडि १६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बुढाथोकीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनिका डिएसपी सन्तोष आचार्यले जानकारी दिए । होलीकै दिन बेलुका ४ बजे पीडित बालिका आफ्नो भाइसँग हिँडिरहेको अवस्थामा बुढाथोकीले बालिकाको यौनाङ्गमा हात पुर्याई अस्वाभाविक यौनजन्य गतिविधि गरेको र बालिकाले प्रतिकार गर्न खोज्दा उल्टै अपशब्द बोलेका थिए ।
बुढाथोकीलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको थियो । पीडित बालिकाको दिदीको जाहेरीका आधारमा प्रहरीले बुढाथोकीलाई झापा जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी आचार्यले बताए ।