पेट्रोलियम व्यवसायीहरुको आन्दोलनका कार्यक्रम फिर्ता
पेट्रोलियम व्यवसायीहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । शनिबार नेपाल आयल निमगसँग सहमति जुटेपछि चैत २० गतेबाट गर्ने भनिएको आन्दोलन व्यवसायीहरूले फिर्ता लिएका हुन् । निगम व्यवस्थापन र पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका पदाधिकारीहरूबीच भएको वार्तामा सहमति जुटेको हो ।
नेपाल एलपी ग्यास उत्पादक संघका अध्यक्ष कुश मल्लले वार्ताबाट सकारात्मक निष्कर्ष आएको बताए । निगमले पेट्रोलियम विक्रेता कमिशनसम्बन्धी र एल।पी। ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागबारे सात दिनभित्र निष्कर्ष निकाल्ने आश्वासन दिएको छ ।
त्यस्तै, अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित विषयहरू जेठ १५ सम्म सक्ने गरी आवश्यक कार्य गर्ने सहमति भएको छ । पेट्रोलियम ढुवानी व्यवसायी, पम्प व्यवसायी र खाना पकाउने एलपी ग्यास उत्पादक व्यवसायीहरूले देशभर पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण ठप्प पार्ने घोषणा गरेका थिए ।