पूर्वी तराईका जिल्लामा सिरुवा पर्व शुरु, आज पानी सिरुवा मनाइँदै
पूर्वी तराईका झापा, मोरङ सुनसरीलगायतका जिल्लामा आजदेखि सिरुवा पर्व धूमधामका साथ मनाइँदैछ । तराईमा बस्ने आदिवासी राजवंशी, थारु, मेचे, धिमाल, ताजपुरिया, गनगाई र माझी समुदायले सिरुवा पर्व मनाउने गर्दछन् ।
नयाँ वर्षसँगै शुरु हुने पर्वका अवसरमा आज झापाका राजवंशीले जल अर्थात् पानी सिरुवा खेल्दै छन् । एक आपसमा पानी छ्यापेर जल सिरुवा मनाउने गरिन्छ । त्यस्तै भोलि बैशाख २ गते माटोको हिलो बनाएर हिलो छ्याप–छ्याप गरेर काद सिरुवा खेल्ने गरिन्छ । लगातार ३ दिनसम्म मनाइने सिरुवाअन्तर्गत सो समुदायले पर्सी बैशाख ३ गते रंग सिरुवा खेल्नेछन् । राजवंशी समुदायले सिरुवा पर्वलाई प्रमुख चाडको रुपमा मनाउने गर्दछन् ।
यो पर्वमा विभिन्न परिकार खाने र संस्कृति झल्कने नाचगान गर्ने चलन छ । पर्वको अवसरमा यी जिल्लाहरूमा विशेष सांस्कृतिक कार्यक्रमहरूसहित सिरुवा मेला पनि लाग्ने गर्दछ ।