यस्तो छ भद्रपुरमा गठबन्धन उम्मेदवारका चुनावी प्रतिबद्धता
स्थानीय तह निर्वाचनका लागि भद्रपुरमा सहकार्य गरिरहेका दलहरूको गठबन्धनले १३ बुँदे साझा प्रतिबद्धता सार्वजनिक गरेका छन् ।झापा सदरमुकाम समेत रहेको नेपालको पुरानो नगरपालिकाको ऐतिहासिक पहिचान बनाएको नगरको समृद्धिको खाका सहित नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीको संयुक्त गठबन्धनले साझा प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।
गठबन्धनका तर्फबाट प्रतिबद्धता पत्र मस्यौदा समितिका संयोजक माओवादी केन्द्रका नेता नरपति लिम्बूले पेस गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, महिला तथा बालबालिका, पूर्वाधार विकास, आर्थिक नीति, सेवा प्रवाह तथा सुशासन, युवा तथा खेलकुद, सांस्कृतिक सम्पदा संरक्षण तथा पर्यटन प्रवर्धन, वातावरण व्यवस्थापन, विपद् व्यवस्थापन, सुकुम्वासी समस्या हल तथा अव्यवस्थित बसोबास व्यवस्थापन शीर्षकमा विस्तृत विवरण सहित प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
नेपाली काँग्रेस झापा क्षेत्र नम्बर ३ का कार्यवाहक सभापति गीताप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समृद्ध भद्रपुर नगर बनाउन विस्तृत कार्ययोजनासहित आफूले नेतृत्व दाबी गरेको भन्दै मेयरका उम्मेदवार गणेश पोखरेलले प्रशासनिक पारदर्शिताका लागि फजुल खर्च अन्त्य गरेर विकास निर्माणका लागि इमानदार रहने बाचा गरेका छन् ।
उपमेयरका उम्मेदवार शिवकुमार राज भण्डारीले भद्रपुरको विकासका लागि स्मार्ट सेवा प्रवाहलाई प्राथमिकीकरण गर्दै नगर भित्र हुने गरेका भ्रष्टाचार तथा चुहावट रोकेर नगरवासीको जीवन स्तर उकास्न प्रतिबद्ध भएको प्रस्टीकरण दिएका छन् ।
कार्यक्रममा नेकपा समाजवादीका नेता तथा भद्रपुर नगरपालिकाका पूर्व प्रमुख पुष्पराज पोखरेल, साबिक चन्द्रगढी गाविसका अध्यक्ष दुर्गाप्रसाद भट्टराई, नेपाली काँग्रेसका पूर्व नगर सभापति राजेन्द्रकुमार घिमिरे, मोहन महर्जन, नेकपा माओवादी केन्द्रका नेता डिल्ली घिमिरे हिक्मत लगायतको उपस्थिति रहेको थियो ।