२०८३ बैशाख ३० गते , बुधबार

खोलामा गाडेको अवस्थामा दाजुभाइको शव भेटियो

sajilo news
झापा
२०८३ बैशाख ३० गते , बुधबार
खोलामा गाडेको अवस्थामा दाजुभाइको शव भेटियो

नुवाकोटको म्यागङमा हत्या गरेर खोलामा गाडेको अवस्थामा दुई वटा शव फेला परेको छ । प्रहरीले शंकास्पद फरार व्यक्तिको खोजी थालेको छ । 

म्यागङ गाउँपालिका–४ किम्ताङ र वर्सुन्चेतको सीमानामा रहेको खोलामा बुधवार दिउँसो हत्या गरेर खोलामा गाडेको अवस्थाका दुई जना पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । मृतकहरू म्यागङ गापा–४ किम्ताङका ३६ वर्षीय सूर्यमान तामाङ र ४३ वर्षीय सोमनाथ तामाङ रहेको प्रहरी नायव उपरीक्षक विक्रम (डीएसपी) लामाले जानकारी दिए । 

उनका अनुसार मृतकहरू दुवै जना दाजुभाइ हुन् । आशंकित व्यक्ति स्थानीय ३५ वर्षीय धने तामाङ फरार रहेकाले उनको खोजी भइरहेको डीएसपी लामाले बताए  । मंगलवार राति स्थानीयवासीले गोली पड्केको जस्तो आवाज सुनेको बताएकाले घटनामा गोली प्रहार भएको आशंका गरिएको नुवाकोट प्रहरीले जनाएको छ । आपसी विवाद हुँदा उक्त घटना भएको हुन सक्ने म्यागङ गापा–४ का वडाध्यक्ष कमलबहादुर तामाङले जानकारी दिए ।

प्रहरी र स्थानीयले आशंका गरेका धने तामाङ भने फरार रहेकाले उनको खोजी भइरहेको छ । घटनाको जानकारी पाए लगत्तै विदुरस्थित जिल्ला प्रहरी कार्यालय तथा स्थानीय प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगी खोलामा गाडिएको अवस्थामा शव बरामद गरिसकेको छ । मृतकहरू र आशंकित धने निर्माणसम्वन्धी काम गर्दै आएको स्थानीयवासीले बताए । एकाघरका दाजुभाइको हत्या भएपछि सूर्यमान र सोमनाथको गाउँकै शोकमा डुबेको छ ।

सम्बन्धित समाचार