२०८३ बैशाख ३१ गते , विहीबार

निःशुल्क पाठ्यपुस्तक पाउँदा शिवसताक्षीका विद्यार्थी भए ‘प्रफुल्लित’

sajilo news
झापा
२०८३ बैशाख ३० गते , बुधबार
निःशुल्क पाठ्यपुस्तक पाउँदा शिवसताक्षीका विद्यार्थी भए ‘प्रफुल्लित’

(विनोद सापकोटा) शिवसताक्षी । सामान्यतया स्थानीय तहका बजेट लाखौँ र करोडौँका योजनामा खर्च हुने गरेका उदाहरण धेरै छन् । तर शिवसताक्षी नगरपालिका वडा नम्बर ८ ले भने न्यून बजेटमै प्रत्यक्ष जनताको घरदैलो छुने कार्यक्रम सञ्चालन गरेर उदाहरणीय काम गरेको छ ।

वडाले चालु आर्थिक वर्ष २०८२÷०८३ को सिलिङ बजेट अन्तर्गत जम्मा ६० हजार रुपैयाँ खर्च गरेर चारवटा सामुदायिक विद्यालयका पूर्वप्राथमिक तहका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक वितरण गरेपछि स्थानीयवासीले यसलाई ‘२०७४ पछिकै सबैभन्दा व्यावहारिक र प्रभावकारी कार्यक्रम’ को संज्ञा दिएका छन् ।

बुधवार वडाले झिलझिले माध्यमिक विद्यालय, भगवती आधारभूत विद्यालय, अरुणोदय आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत नर्सरी तथा केजी तहका १६४ जना विद्यार्थीलाई माइलस्टोन पब्लिकेसनका पाठ्यपुस्तक हस्तान्तरण गरेको हो । कार्यक्रममा नर्सरीका ७१ जना र केजीका ९३ जना विद्यार्थी प्रत्यक्ष लाभान्वित भएका छन् ।

सामुदायिक विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थी आर्थिक रूपमा विपन्न परिवारका भएकाले निजी प्रकाशनका पुस्तक खरिद गर्न कठिन हुने अवस्थालाई मध्यनजर गर्दै वडा कार्यालयले यो योजना ल्याएको वडा अध्यक्ष सन्तकुमार फेउदिनले बताए । उनका अनुसार सरकारले कक्षा १ देखि १२ सम्म निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराए पनि नर्सरी, एलकेजी र युकेजी तहका बालबालिकाका लागि कुनै व्यवस्था छैन । यही अभावलाई सम्बोधन गर्न वडाले आफ्नै स्रोतबाट कार्यक्रम सञ्चालन गरेको हो ।

‘पूर्वप्राथमिक तह बालबालिकाको आधार निर्माण गर्ने चरण हो,’ वडा अध्यक्ष फेउदिनले भने, ‘तर आर्थिक अभावकै कारण धेरै अभिभावकले निजी प्रकाशनका गुणस्तरीय पुस्तक खरिद गर्न सक्नुहुन्न । त्यसैले शैक्षिक सुधार कार्यक्रम अन्तर्गत हामीले यो अभियान सुरु गरेका हौँ ।’

पाठ्यपुस्तक वितरण कार्यक्रममा वडा अध्यक्षसँगै जनप्रतिनिधि टिका दर्जी, विवेक थिङ, दोर्जे, ज्ञानप्रसाद लुइँटेल र रिता तामाङको सहभागिता रहेको थियो । वडा टोलीले चार वटै विद्यालयमा पुगेर अभिभावकको उपस्थितिमै विद्यार्थीको हातमा पुस्तक हस्तान्तरण गरेको थियो ।

विद्यालयका प्रधानाध्यापकहरूले पनि वडाको यो कार्यक्रमलाई अत्यन्त प्रभावकारी र विद्यार्थीमैत्री कदमको रूपमा व्याख्या गरेका छन् । झिलझिले माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पौडेलले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका लागि यस्तो सहयोग अत्यन्त आवश्यक रहेको बताए ।

त्यस्तै भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक टेकबहादुर मगर, अरुणोदय आधारभूत विद्यालयका प्रधानाध्यापक तारा लावती तथा सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक देवीबहादुर कार्कीले पनि वडाले थालेको अभियानले विद्यार्थी र अभिभावक दुवैलाई राहत पुगेको प्रतिक्रिया दिएका छन् ।

अभिभावकहरूले पनि वडाको कार्यक्रमप्रति खुसी व्यक्त गरेका छन् । झिलझिले माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अभिभावक यामबहादुर बुढाथोकीले निजी प्रकाशनका पुस्तक महँगो हुने भएकाले विपन्न परिवारका लागि खरिद गर्न निकै कठिन हुने बताए ।

‘सरकारी विद्यालयमा पढे पनि साना कक्षाका किताब किन्ने पैसा जुटाउन धेरै अभिभावकलाई समस्या हुन्छ,’ उनले भने, ‘वडाले दिएको सहयोगले ठूलो राहत मिलेको छ ।’

सरस्वती आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलु राईले यो कार्यक्रमलाई हालसम्मकै कदरयोग्य र रचनात्मक अभियानको रूपमा चित्रण गरे । उनका अनुसार कार्यक्रमले प्रत्यक्ष रूपमा हरेक घरपरिवारलाई छोएको छ ।

‘सामुदायिक र संस्थागत विद्यालयबिचको गुणस्तरीय दूरी कम गर्न यस्ता कार्यक्रम निकै प्रभावकारी हुन्छन्,’ उनले भने, ‘वडाले साँच्चिकै उदाहरणीय काम गरेको छ ।’

शिवसताक्षी–८ ले पछिल्ला वर्षहरूमा शिक्षा, स्वास्थ्य, कृषि, प्रविधि र प्राविधिक क्षेत्रलाई प्राथमिकता दिएर प्रत्यक्ष जनलाभ हुने कार्यक्रम सञ्चालन गर्दै आएको स्थानीयवासी बताउँछन् । विशेषगरी कम बजेटमा बढी प्रभाव पार्ने योजनालाई प्राथमिकतामा राखिएको देखिन्छ ।

वडा सदस्य ज्ञानप्रसाद लुइँटेलका अनुसार यस वर्ष भगवती आधारभूत विद्यालयसहित अन्य विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराउने योजना पनि अघि बढाइएको छ । साथै विद्यार्थीलाई विद्यालय आउजाउमा सहज बनाउन ‘सिटी सफारी’ समेत उपलब्ध गराइने तयारी रहेको उनले जानकारी दिए ।

‘वडाले सबैभन्दा बढी प्राथमिकता शिक्षा र स्वास्थ्य क्षेत्रमा दिएको छ,’ लुइँटेलले भने, ‘बालबालिकाको भविष्य निर्माणसँग जोडिएका कार्यक्रमलाई निरन्तरता दिन्छौँ ।’

स्थानीय तहहरूले शिक्षा क्षेत्रमा प्रत्यक्ष लगानी गर्ने अभ्यास अझै सीमित रहेको अवस्थामा शिवसताक्षी–८ को यो अभियानलाई धेरैले सकारात्मक उदाहरणका रूपमा हेरेका छन् । झापामा सामुदायिक विद्यालयको अङ्ग्रेजी माध्यमतर्फ निजी प्रकाशनका पाठ्यपुस्तक वितरण गरिएको सम्भवतः यो दोस्रो घटना हो । यसअघि शिवसताक्षी नगरपालिका वडा नम्बर ३ ले पनि विपन्न विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक वितरण गरेको थियो ।

वडा अध्यक्ष फेउदिनले कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्दै आगामी वर्षहरूमा थप कक्षासम्म विस्तार गर्न सकिने बताए । उनका अनुसार शिक्षा क्षेत्रमा गरिएको सानो लगानीले दीर्घकालीन रूपमा ठूलो परिवर्तन ल्याउन सक्छ ।

थोरै बजेटमा प्रत्यक्ष विद्यार्थी, अभिभावक र विद्यालयलाई राहत दिने गरी सञ्चालन गरिएको यो कार्यक्रम अहिले शिवसताक्षीमा चर्चाको विषय बनेको छ । अधिकांश अभिभावकले स्थानीय सरकारले यस्तै जनमुखी र व्यावहारिक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने अपेक्षा व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार