पञ्जाबी गायक मुसेवालाको हत्यारा खोज्न भारतीय प्रहरी टोली काठमाडौंमा
गोली हानेर हत्या गरिएका भारतका चर्चित पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्याराको खोजीमा भारतीय प्रहरीको विशेष टोली काठमाडौं आएको छ।
भारतको पञ्जाब राज्य सरकारले मुसेवालाको विशेष सुरक्षा हटाएको भोलिपल्टै गोली प्रहार गरेर उनको हत्या गरिएको थियो। उनी आफ्नै गाडीमा रहेका वेला उनीमाथि ३० भन्दा बढी गोली हानेर उनको हत्या गरिएको थियो। उनको गाडी पछ्याउँदै गएको एउटा कारमा रहेका व्यक्तिहरूले उनलाई अन्धाधुन्द गोली हानेपछि सिकिस्त उनको उपचारका लागि अस्पताल पुर्याउँदा मृत्यु भएको थियो।
भारतीय प्रहरीले यसलाई ग्याङवारका रूपमा लिएर अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
गायक मुसेवालाको हत्यामा संलग्न रहेकाहरू नेपालमा रहेको सूचना पाएको दिल्ली प्रहरीले आफ्नो स्पेशल टिम आज ९शुक्रबार० नेपाल आएको भारतको इन्डिया टुडेले जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले भारतीय प्रहरीको टोली यहाँ आएकोबारे औपचारिक जानकारी नभएको बताए।
तर प्रहरीको उच्च स्रोतले भने दिल्ली प्रहरीको स्पेशल सेलका केही अधिकारी काठमाडौं आएको पुष्टि गरेको छ। घटनामा संलग्न व्यक्ति काठमाडौंमा रहेको सूचनाका आधारमा उनीहरू सहयोगका लागि काठमाडौं आएको प्रहरी स्रोतले बतायो।
केही भारतीय सञ्चारमाध्यमले गायक मुसेवालाको हत्या आरोपमा भारतीय प्रहरीले मनप्रित सिंहलाई पक्राउ गरेको जनाएका छन्। उनी लागूऔषधको डिलर हुन्। मुसेवालामाथि गोली प्रहार गर्नेहरूले मनप्रितको नाममा रहेको कार प्रयोग गरेका थिए। थाहाखबरबाट