२०८३ बैशाख ४ गते , शुक्रबार

भूकम्पबाट अफगानिस्तानमा कम्तीमा ९२० जनाको मृत्यु‚ १५०० बढी घाइते

sajilo news
एजेन्सी
२०७९ असार ८ गते , बुधबार
भूकम्पबाट अफगानिस्तानमा कम्तीमा ९२० जनाको मृत्यु‚ १५०० बढी घाइते

काबुल । पूर्वी अफगानिस्तानको ग्रामीण तथा पहाडी क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा ९२० जनाको मृत्यु भएको छ भने १५०० जना घाइते भएका छन्। अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने बताए।

अफगानिस्तानका आपत्‌कालीन सेवाका अधिकारी शराफुद्दिन मुस्लिमले बुधबार पत्रकार सम्मेलनमा मृत्यु हुनेको संख्याबारे जानकारी दिए। यसअघि समाचार एजेन्सी ‘बख्तर’का महानिर्देशक अब्दुल वाहिद रायनले ट्वीट गर्दै पक्तिकामा ९० घर ध्वस्त भएको र धेरै मानिस भग्नावशेषमुनि पुरिएको बताएका थिए।

उद्धार टोली भूकम्पबाट सबैभन्दा बढी प्रभावित पक्तिका र खोस्त प्रान्तका दुर्गम क्षेत्रमा अझै पुग्न सकेको छैन। यस्तो अवस्थामा भूकम्पका कारण मृत्यु हुनेको संख्यामा बढ्ने हुने अनुमान गरिएको छ। धेरै तालिबान अधिकारीहरूले राहत र उद्धार टोली भूकम्प प्रभावित धेरै क्षेत्रमा पुग्न प्रयास गरिरहेको बताएका छन्।

अमेरिकी भूगर्भ सर्वेक्षण ९युएसजीएस०का अनुसार अफगानिस्तानमा बुधबार बिहान ६।१ रिएक्टर भूकम्प गएको छ। भूकम्पको केन्द्रविन्दु खोस्त शहरबाट ४६ किलोमिटरपूर्व पाकिस्तानी सीमा नजिक रहेको बताएको छ। 

यसअघि तालिवान आन्तरिक मन्त्रालयका अधिकारी सलाहुद्दिन अयुबीले केही गाउँ दुर्गम क्षेत्रमा रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने र विवरण सङ्कलन गर्न केही समय लाग्ने बताएका थिए। पक्तिका प्रान्तका जनजाति नेता याकुब मन्जोरले पीडितहरूलाई सहयोग गर्न उद्धारकर्मी परिचालन भइरहेको बताए। स्थानीय बजार बन्द रहेकाले त्यस क्षोत्रका बासिन्दा प्रभावित क्षेत्रमा पुगेको उनले बताए।

पक्तिका प्रान्तमा पीडितहरूलाई उद्धार गर्न हेलिकप्टर तैनाथ गरिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पको धक्का यति शक्तिशाली थियो कि माटोले मात्र होइन, सिमेन्टले बनेका घरहरू पनि तासको घर जस्तै गरी ढलेका थिए।

सम्बन्धित समाचार