सीमा नाकाबाट झापाकी १३ वर्षीया बालिकाको उद्धार, बालिकाको प्रेमीसहित दुई पक्राउ
नेपाल-भारत सीमा नाका विराटनगर- १५ स्थित २ नम्बर गेट नजिकबाट १३ वर्षीय बालिकाको उद्धार गरिएको छ । झापाको १३ वर्षीय बालिकालाई प्रलोभन देखाएर भारत लैजाने क्रममा प्रहरी र साना हात नामक संस्थाले सीमा नाकाबाटै मङ्गलवार उद्धार गरेका हुन । नयाँ लुगा किनिदिएर भारतमा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभन देखाइ बालिकालाई बेच्ने तयारी भइरहेको सूचनाको आधारमा ती बालिकालाई उद्धार गरिएको प्रहरीले जनाएको छ । गैरसरकारी संस्थासँगको सहकार्यमा बालिकाको उद्धार गर्न सफल भएको प्रहरी कार्यालय मोरङका एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।
प्रहरीले बालिकालाई झुक्क्याइ बेचबिखन गर्ने उद्देश्यले लैजाने दुई जना व्यक्तिलाई समेत पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेको मध्ये एक जना भारतीय नागरिक रहेका छन् । भारतको मुजफरपुर घर भई झापाको बिर्तामोडमा डेरामा बस्दै आएका २२ वर्षीय हिरा सहनी र १८ वर्षीय एक युवालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सहनी बारा जिल्ला घर भएकी युवती प्रेमी प्रेमिका हुन् । उनीहरूको सामाजिक सञ्जालमार्फत दुई वर्ष अगाडिदेखि चिनजान भएपछि नजिकिएका थिए ।
‘सहनीले बारा घर भएकी प्रेमिकालाई फोन गरेर बिर्तामोड बलाएको रहेछन् । प्रेमिका आएपछि उनीहरू हिराको डेरामा पाँच दिन बसेका रहेछन् । त्यहीँका १३ वर्षीय बालिकासँग हिराको राम्रो चिनजान भएकोले नयाँ लुगा किनिदिएपछि ललाइफकाइ गरेर पहाड जानुपर्छ भन्दै डेराबाट लिएर आएको देखिएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘पछि विराटनगर ल्याएपछि बोर्डरमा कसैले सोधे मेरा बाबुआमा कोही छैन ।
मेरो आफन्त भनेको मेरो उहाँहरू दाजु, दिदी हो । भन्न लगाएर भारत लैजाने क्रममा नियन्त्रणमा लिएको हो ।’इलाका प्रहरी कार्यालय रानी विराटनगरले उनीहरू विरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।