झापामा बम आतंक मच्चाउने समूहका नाइके जेल चलान
झापा । हिमाल सुरक्षा परिषद् नामक आपराधिक समूहको नेतृत्वकर्ता ४३ वर्षीय सञ्जय भनिने खगेन्द्र खरेल कारागार चलान भएका छन् । थुनामा राख्न अदालतले आदेश दिएपछि उनी लगायत तीन जनालाई कारागार चलान गरिएको हो । प्रहरीका अनुसार झापाको कनकाई नगरपालिका-८ लक्ष्मीपुरमा बस्दै आएका खगेन्द्र विभिन्न ठाउँमा बम आतङ्क मच्चाउने र चन्दा असुली गर्दै आएको आपराधिक समूह हिमाल सुरक्षा परिषद्का केन्द्रीय अध्यक्ष हुन् ।
परिषद्को नेतृत्व गरिरहेका उनीसहित सुनसरीको इटहरीकी आशा ठकुरी भनिने लक्ष्मीदेवी थापा र लमजुङको ढोडेनी गाउँपालिका-७ का २३ वर्षीय शेरजंग गुरुङलाई कारागार चलान गरिएको छ । तीनै जनालाई जिल्ला अदालत सुनसरीका न्यायाधीश सुवासबाबु पुरीको इजलासले गत जेठ २० गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
सुनसरीको इटहरी उपमहानगरपालिका-२ स्थित अमर श्रेष्ठको घरको कोठामा २०७८ चैत १४ गते बम विस्फोट हुँदा दुईजना घाइते भएको घटनाको अनुसन्धानका क्रममा खगेन्द्रसहित लक्ष्मीदेवी र शेरजंग पक्राउ परेका थिए ।
विस्फोटमा परेर कारागार चलान भएका शेरजंग र लक्ष्मीदेवीका छोरा १७ वर्षीय रविन थापा घाइते भएका थिए । विस्फोट भएको कोठामा छोरासहित लक्ष्मीदेवी डेरा बस्थिन् ।
इटहरीको मिसनबाट चर्चमा विस्फोट गराउने उद्देश्यले उक्त बम ल्याएर लक्ष्मीदेवीको कोठामा राखेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । परिषद्का नाममा बम तथा बमजस्तो देखिने शङ्कास्पद वस्तु राख्ने, चन्दा उठाउने, सर्वसाधारण तथा व्यापारीलाई धम्क्याउने, शान्ति सुरक्षामा खलल पुर्याउने तथा आतङ्क सिर्जना गर्ने र सुनसरी लक्षित आपराधिक गतिविधि मच्चाउने योजना लक्ष्मीदेवीकै कोठाबाट बन्ने गरेको पाइएको छ ।
लक्ष्मीदेवीलाई प्रहरीले २०७८ चैत १७ गते पक्राउ गरेको हो । त्यसको भोलिपल्ट खगेन्द्र पक्राउ परे । उपचारपछि शेरजंग र रविनलाई पनि प्रहरीले पक्राउ गर्यो । खगेन्द्रसँग साँठगाँठ गरी आपराधिक गतिविधिका लागि सरसल्लाह दिने गरेको पाइएपछि झापाको कमल गाउँपालिका-१ घर भएका पत्रकार ३९ वर्षीय उत्तम रिजाललाई पनि प्रहरीले गत वैशाख १३ गते पक्राउ गरेको थियो ।
उनीहरुविरुद्ध प्रहरीले बम विस्फोट र सङ्गठित अपराध सम्बन्धी मुद्दा चलाएको थियो । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्रबहादुर खड्काको नेतृत्वमा अनुसन्धान सकेर प्रहरीले मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गर्यो ।
अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसँगै तीन जनालाई कारागार चलान गरियो । पत्रकार रिजाल एक लाख रुपैयाँ धरौटीमा छुटे । रविन बालक भएकाले अभिभावकको जिम्मा लगाउन अदालतले आदेश दियो ।
त्यसअघि परिषद्मा आबद्ध नौ जना झापाबाट पक्राउ परेका थिए । विभिन्न ठाउँमा बम र बमजस्तो देखिने शङ्कास्पद वस्तु राखेर सर्वसाधारणमा त्रास सिर्जना गरेको पाइएपछि पक्राउ गरेर मुद्दा चलाइएको झापा प्रहरीका प्रवक्ता डिएसपी वसन्त पाठकले बताए ।
उनका अनुसार पक्राउ परेकाहरूको साथबाट हिमाल सुरक्षा परिषद् नेपाल, इन्चार्ज केन्द्रीय कमिटी, इन्चार्ज कोसी अञ्चल कमिटी, अध्यक्ष कोसी अञ्चल कमिटी, अध्यक्ष मेची अञ्चल कमिटी, इन्चार्ज मेची अञ्चल कमिटीका हस्ताक्षर मात्र भएका १० वटा छापहरू, चन्दा माग गरिएका लेटर प्याड, चन्दा माग्न प्रयोग गर्ने मोबाइलका सिम, विभिन्न पर्चा, पम्प्लेट तथा विभिन्न बैङ्कका चेकहरू बरामद भएको थियो । साथै, बम बनाउन प्रयोग गरिने वस्तुहरू पनि बरामद भएका थिए ।
परिषद्ले २०७८ फागुन १५ गते सशस्त्र द्वन्द्वको घोषणा गरेको थियो । द्वन्द्वको घोषणा गर्दै आपराधिक समूह भूमिगत बनेपछि शान्ति सुरक्षामा चुनौती थपिएको विश्लेषण गरियो । तर, केन्द्रीय अध्यक्षसहितलाई पक्राउ गरेर मुद्दा चलाउँदै परिषद्का सबै गतिविधि निस्तेज पार्न प्रहरी सफल भएको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले बताए ।
प्रहरीको सफलताकै कारण अहिले परिषद्का नाममा हुने आपराधिक गतिविधि शून्य बनेको छ । सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याउँदै आएको समूहको संरचना ध्वस्त बनाइएको एसपी थापा बताउँछन् । ‘केही आपराधिक पृष्ठभूमिका व्यक्तिहरू मिलेर परिषद्का नाममा आतङ्क मच्चाइरहेका थिए । त्यसविरुद्धको कारबाहीमा प्रहरीले सफलता प्राप्त गरेको छ,’ उनले भने, ‘उसका सबै गतिविधि निस्तेज पारिएको छ । अहिले शान्ति सुरक्षामा कुनै चुनौती छैन ।’
भारतमा बसेर योजना बनाउने र नेपालमा आपराधिक गतिविधि गर्ने समूहको संरचना ध्वस्त बनाइसकिएका कारण अहिले यसको कुनै प्रभाव र असर नभएको जानकारी एसपी थापाले दिए । अझै पनि यो समूहको अवशेष बाँकी रहेको आशङ्कामा सम्भावित गतिविधि माथि अनुसन्धान गर्ने र निगरानी बढाउने क्रम भने जारी रहेको उनको भनाइ छ ।