नेपाल प्रहरीले पूर्वी नाका काँकडभिट्टाबाट भन्सार छलेका सामान दिनहुँ जसो बरामद गर्दै
पूर्वी नाका काँकडभिट्टामा दिनहुँ जसो नेपाल प्रहरीले सरसामान बरामद गरिरहेका छन् । सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीले भन्सार छलेर नेपाल भित्रिएका सरसामान बरामदमा खासै चासो नदेखाइरहेका बेला नेपाल प्रहरीले त्यसतर्फ निगरानी बढाएको छ । यसै क्रममा प्रहरीले मेचीनगर नगरपालिका ६ बाट अवैध रुपमा भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको एक लाख ६१ हजार मुल्य बरावरको सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा एउटा गाडी नियन्त्रणमा लिएको थियो । सो गाडीभित्र पकवान तेल ४२ काटुन् र झ्याल ढोकामा प्रयोग हुने ह्यन्डिल ४८ थान बरामद गरेको हो । बरामद गरिएका उक्त सामानलाई आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइसकेको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरीले काँकडभिट्टा नाकाबाट भन्सार छलेर भित्राएको दुई लाख मुल्य बराबरको अवैध कपडा कमल ३ मा मङ्गलवार बिहान साढे ११ बजे विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटी समूह र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरी टोलीले पूर्वी नाका काँकडभिट्टाबाट धरान तर्फ जाँदै गरेको को १ ख ६४३३ नम्बरको यात्रु वाहक बसको डिकीबाट बरामद गरेको थियो ।
त्यसैगरी नेपालबाट अवैध रुपमा भारततर्फ लैजाने क्रममा प्रहरीले मेचीनगर नगरपालिका ६ बाट २४५ किलो सुपारी बरामद गरेको हो । प्रहरी गस्ती टोलीले सोमवार राति भारततर्फ लुकाई छिपाई लादै गरेको अवस्थामा अन्दाजी १ लाख २२ हजार ५ सय मुल्य बरावरको सुपारी बरामद गरेको हो ।