कोरा च्यालेञ्जले जोड्यो दार्जिलिङलाई झापासँग
मेचीनगर । "पर्यटन प्रवर्द्धन गरौँ तथा साइकल चलाऔँ, स्वस्थ रहौँ" भन्ने मूल नाराका साथ कोरा च्यालेञ्ज–२०२२ प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।
द हिमालयाज माउन्ट बाइक बिर्तामोड र एमटीबी राइडर्स इलामको आयोजनामा भएको कोरा च्यालेञ्ज भारतको दार्जिलिङबाट सुरु भई झापाको धुलाबारीमा आएर सम्पन्न भएको हो । कोरा च्यालेञ्ज हरेक वर्ष जुलाई १६ तारिख मनाइँदै आएको छ । कोरा च्यालेञ्जमा ५० वा ७५ वा १०० किमी दुरी पार गर्नुपर्ने हुन्छ ।
दार्जिलिङको लेप्चा जगतबाट सुरु भएको साइक्लिङ सुकियापोखरी, नेपालको पशुपतिनगर, हिले, श्रीअन्तु, समलबुङ, सुल्तुङ, सिद्धि दोभान, सलकपुर हुँदै मेचीनगरको बौद्धमोडबाट धुलाबारी आइपुगेको हो ।
कोरा च्यालेञ्ज अन्तर्गत १०३ किलोमिटर दुरी पूरा गरिएको द हिमालयाज माउन्ट बाइक बिर्तामोडका सञ्चालक धनराज थापा मगरले जानकारी दिए । उनका अनुसार दुई दिने उक्त साइक्लिङ प्रतियोगिताको उद्देश्यले नेपाल र भारतबीचको पर्यटन प्रवर्द्धनलाई जोड्ने रहेको छ । कोरा च्यालेञ्जमा मेचीनगर, बिर्तामोड र फिक्कलका युवाहरू सहभागी थिए । जसमा १९ वर्षदेखि ५४ वर्ष उमेर समूहकाको सहभागिता रहेको थियो ।
साइक्लिङका क्रममा विभिन्न क्षेत्रको अवलोकन तथा पर्यटन क्षेत्रको प्रचारमा सहयोग पुग्ने विश्वास लिइएको छ । स्थानीय क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गत वर्ष झापामै पहिलो पटक मेचीनगरमा साइक्लिङ प्रतियोगिता आयोजना गरिएको थियो ।