झापामा महिलालाई ५१ करोड राजश्व छुट
भद्रपुर । भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापाले आर्थिक वर्ष २०७८/७९ को एक आर्थिक वर्षमा ५१ करोड ४२ लाख १ हजार ५१३ रुपैयाँ लिखद दर्ता गराउने महिलाहरुलाई राजश्व छुट दिएको छ ।
अघिल्लो आर्थिक वर्षको भन्दा २०७८/७९ मा लिखद पास गर्ने महिलाहरुको संख्यामा बृद्धि भएको हो । राज्यले पुरुषहरुलाई भन्दा २५ प्रतिशतसम्म महिलाहरुलाई जग्गा खरिद बिक्रीमा छुट दिएका कारण ग्रामीण क्षेत्रका २ हजार ५४ र नगर क्षेत्रबाट ९ हजार १५ सहित ११ हजार ६७९ वटा लिखद दर्तासंगै सो संख्या बराबरको राजश्वमा छुट दिइएको हो । अघिल्लो आवमा भने ७ हजार ६१ वटा लिखद पास गर्ने महिलाहरुलाई ३९ करोड २१ लाख ८ हजार ४२६ रुपैयाँ मात्र राजश्व छुट दिइएको थियो ।
आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा विभिन्न विवरणअन्र्तगत ५२ करोड ४७ लाख ८ हजार ७८२ रुपैयाँ राजश्वमा छुट गरेको कार्यालयका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीले बताए ।
उनका अनुसार नगर तथा ग्रामीण क्षेत्रका दलितहरुलाई १० लाख २२ हजार ७७, शहीद परिवारलाई ११ हजार ६५० र पतीपत्नीको संयुक्त नाममा लिखद पास गर्ने ५ जनालाई २३ हजार ४४२ रुपैयाँ कार्यालयले छुट दिएको छ । परिचयपत्रको आधारमा अपाङ्ग, महिला र दलितलाई २५ प्रतिशत र एकल महिलालाई ३५ प्रतिशतसम्म राजश्वमा छुट दिने गरेको कार्यालयले जनाएको छ । यस कार्यालयबाट झापाको माईपूर्वका ११ वटा स्थानीय तहको जग्गा किनबेचलगायतका कारोवार हुने गरेको छ ।