भद्रपुरमा श्रीकृष्ण रथ यात्रा निकाल्ने तयारी
भद्रपुर । झापाको सदरमुकाम भद्रपुरमा दुई दशकदेखि मनाउँदै आएको श्रीकृष्ण रथ यात्रा यस वर्ष हर्सोउल्लासका साथ मनाइने भएको छ। भद्रपुर नगरपालिकाको संरक्षणमा रहेको रथलाई श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट भदौ ४ गते शनिवार नगर परिक्रममा गराउने तयारीमा श्रीकृष्ण रथ यात्रा समारोह समिति जुटेको छ ।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य तथा रथ यात्रा समारोह समितिका अध्यक्ष देवकुमार घिमिरेको अध्यक्षतामा शनिवार नगरपालिकामा बसेको बैठकले अघिल्लो वर्ष कोरोना महामारीका कारण सञ्चालन हुन नसकेको रथ यात्रा यस वर्ष निकाल्ने विषयमा निर्णय समितिका सचिव विष्णु काफ्लेले जानकारी दिए ।
भद्रपुर- ५ स्थित लक्ष्मीनारायण मन्दिरबाट सुरु हुने रथ यात्रालाई नयाँ बजार, तारावारि भएर आँपगाछी दक्षिण ज्ञाने चोकसम्म पुर्याएर झापा चोक, भानु चोक, संगमचोक, सगरमाथा चोक, गार्मेन्ट चोकबाट लेखनाथ चोक भएर चन्द्रगढी बिपी चोक, चारआली ट्याम्पो स्टेण्ड, एसपी मोड, क्याम्पस मोड, क्याम्पस, हस्पिटल चोक, गणेश मन्दिर, जनता चोक हुँदै भद्रपुर बजार भएर लक्ष्मीनारायण मन्दिरमा समापन गर्ने कार्यक्रम रहेको समितिको अध्यक्ष घिमिरेले जानकारी दिए ।
रथ यात्रालाई सभ्य भव्य बनाउन नगरपालिका लगायतका विभिन्न धार्मिक तथा सामाजिक, सांस्कृतिक सङ्घ संस्थासँग समन्वय गरिने र रथलाई ध्वजापताका र फूलमालाले सजाउने, बाजागाजा र झाँकीहरू प्रदर्शन गर्ने र लाखे नाच समेत प्रस्तुत गरिने उनले बताए ।