२०८३ बैशाख १४ गते , सोमबार

कचनकवलको भुतेश्वर महादेव मन्दिरमा गोरु दान बढ्दै

sajilo news
झापा
२०७९ श्रावण ३० गते , सोमबार
कचनकवलको भुतेश्वर महादेव मन्दिरमा गोरु दान बढ्दै

कचनकवल । दक्षिणी झापाको चर्चित धार्मिक स्थलको रुपमा विकसित हुँदै गएको कचनकवल १ को भुतेश्वर महादेव मन्दिरमा गोरु दान बढ्दै गएको छ । अन्य धार्मिक स्थलहरुमा नगद र जिन्सी दान दिने गरिएपनि त्यस मन्दिरमा भाकलस्वरुप भक्तजनहरूले गोरु९बाछो० दान पनि दिने गरेको पाइएको छ ।

आफ्नो मनोकामना पूरा भएपछि त्यस शिवालय मन्दिरमा शिवको बाहान गोरु दान दिने गरेका हुन् । त्यस मन्दिरमा यो साउन महिनामा ४९ वटा गोरु दान दिइएको छ । पहिलो सोमवार ६ वटा , दोस्रो सोमवार ८ वटा , तेस्रो सोमवार १८ वटा , चौथो सोमवार ६ वटा र अन्तिम सोमवार ११ वटा गोरु दानमा आएको भुतेश्वर महादेव मन्दिर समितिका अध्यक्ष पदमलाल राजवंशीले बताए । गत वर्ष ५३ वटा गोरु दानमा आएको उनले बताए । अध्यक्ष राजवंशीका अनुसार दानमा आएका गोरुहरूलाई बिक्री गरी आम्दानीमा बाँध्ने गरिएको छ । साउन महिनाको सोमवार त्यहाँ भक्तजनहरूले जल चढाउने गरेका छन् ।

गोरुसँगै सुन चाँदी र नगद पनि दान स्वरुप चढाउने गरेका छन् । गत वर्षको साउन महिनामा करिब ३ लाख नगद भेटीस्वरुप सङ्कलन भएको थियो । त्यसमध्ये खर्च कटाएर १ लाख ८० हजार रुपैयाँ बचत गरी कोषमा राखिएको अध्यक्ष राजवंशीले बताए । २०१२ सालमा बैजनाथ राजवंशीले भुतेश्वर महादेवको मन्दिर निर्माण गरिदिएका थिए ।उनैले मन्दिरलाई २ विगाह १६ कट्ठा जग्गा दान दिएका थिए । २०५५ सालदेखि त्यस मन्दिरमा मन्दिर समितिले बोलबम सुरु गरेको हो ।

साउनको प्रत्येक सोमवार जल चढाउने भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ । भुतेश्वर महादेव मन्दिरलाई धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न विभिन्न भौतिक संरचनाहरू निर्माण गरिएका छन् । पहिला सँगै जोडिएको भुतेश्वर बाबा र बोलहरिको मन्दिर मात्र रहेको थियो । तर, अहिले बद्रीनाथ ,गणेश , कार्तिक , हनुमान , पार्वती ,शिवशक्ति , कैलाश र गंगाको मन्दिर निर्माण गरिएको छ । त्यस्तै हवन कुण्ड , धर्मशाला , सत्सङ्ग भवन, प्रसाद वितरण गर्ने घर पनि बनाइएको छ । साउनको अन्तिम सोमवार त्यहाँ भक्तजन र मेला भर्नेहरूको निकै घुइँचो लागेको थियो ।

आफूले मागेको मनोकामना पूरा हुने आस्था र विश्वासका साथ भारतको विहार , बङ्गाल र नेपालको विराटनगरसम्मका भक्तजनहरू आउने गरेको सोमवारे साउने बोलबम मेला समितिका अध्यक्ष सुवित राजवंशीले बताए ।

सम्बन्धित समाचार