२०८३ बैशाख ७ गते , सोमबार

चाइनिज स्याउको तस्करी, भारतबाट आएको पाँच वटा कन्टेनर प्रहरी नियन्त्रणमा

sajilo news
मोरङ
२०७९ भाद्र ११ गते , शनिबार
चाइनिज स्याउको तस्करी, भारतबाट आएको पाँच वटा कन्टेनर प्रहरी नियन्त्रणमा

चीनबाट भारतको कोलकाता हुँदै नेपाल भित्राइएको पाँच कन्टेनर चाइनिज स्याउ प्रहरीले शुक्रबार साँझ विराटनगरबाट नियन्त्रणमा लिएको हो। भारतीय नम्बर प्लेटका पाँचवटा कन्टेनरमार्फत नेपाल भित्राइएको स्याउसहित थप तीनवटा नेपाली ट्रकलाई पनि नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

विराटनगर महानगरपालिका–१३ मलाया रोडबाट नियन्त्रणमा लिइएका पाँचवटा कन्टेनर र तीनवटा ट्रक गरेर आठवटै गाडीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी भइरहेको श्रेष्ठले बताए। 

उनका अनुसार भारतीय कन्टेनरलाई सडकमै रोकेर नेपाली नम्बर प्लेटका ट्रकमा स्याउ ‘अनलोड’ गर्दैगर्दा साँझ ६स्३० बजेतिर नियन्त्रणमा लिइएको हो। साथै भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस)मा विवरण नभरिकन स्याउ ढुवानी गरिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। प्रहरीले माग्दा चालकले भीसीटीएसको विवरण र भन्सारका अन्य कागजपत्र उपलब्ध गराउन नसकेको उनले बताए। 

‘भारतीय नम्बर प्लेटका ढुवानीका साधनलाई बाटोमा रोकेर नेपाली ट्रकमा सामान ‘अनलोड’ गर्न पाइँदैन। भारत तथा तेस्रो मुलुकबाट आयात गरिएका सामान सम्बन्धित ठाउँमा पुर्‍याएर मात्रै ‘पल्टी’ गर्नुपर्छ,’ डीएसपी श्रेष्ठले भने, ‘भीसीटीएस प्रणालीमा विवरण प्रविष्ट नगरी स्याउ ढुवानी गरिएजस्तो देखिन्छ। मालवस्तुको ढुवानीमा भीसीटीएस प्रणाली अनिवार्य छ।’ राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐनले मालवस्तुको ढुवानीमा भीसीटीएस अनिवार्य गरेको हो। 

सम्बन्धित ठाउँमा नपुर्‍याइकन ‘अनलोड’ गरिएको र आवश्यक कागजात उपलब्ध गराउन नसकेपछि शंकास्पद लागेर चाइनिज स्याउसहित कन्टेनर र ट्रक नियन्त्रणमा लिइएको उनको भनाइ छ। प्रहरीले शंकास्पद अवस्थामा एनएल ०१ एई ४७०५, एनएल ०१ एबी २४१०, एनएल ०१ एई ३७२२, एनएल ०१ क्यू २२२२ र एनएल ०१ एन २६६३ नम्बरको कन्टेनर नियन्त्रणमा लिएको हो। कन्टेनरलाई बाटोमै रोकेर स्याउ ‘अनलोड’ गर्दै गरिएका ना ५ ख ५६००, को १ ख ६९३९ र प्रदेश १–०२–००१ ख् ८५५६ नम्बरका ट्रकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। 

तर कन्टेनर विराटनगर भन्सार कार्यालयबाट जाँचपास गराएर गन्तव्यका लागि हिँडेका थिए। स्याउ कसले आयत गरेको हो त्यो खुल्न बाँकी रहेको डीएसपी श्रेष्ठले बताए। ‘शंकास्पद अवस्थामा नियन्त्रणमा लिइएका कन्टेनर र ट्रकसहित स्याउ राजस्व अनुसन्धान कार्यालयमा बुझाउने तयारी भइरहेको छ,’ उनले भने, ‘अनुसन्धान र कारबाहीको थप प्रक्रिया राजस्वले नै अघि बढाउँछ।’ प्रहरीले कन्टेनर र ट्रकका चालकलाई पनि पक्राउ गरेको छ। 

चीनबाट आयात गरेर चाइनिज स्याउ भारततिर तस्करी गर्ने गरिएको छ। प्रहरीले बरामद गरेको स्याउ पनि भारततिरै तस्करी गर्नलाई आयात गरिएको हुनसक्ने आशंका छ। अन्नपूर्ण पोष्टबाट

सम्बन्धित समाचार