काँकडभिट्टा नाकाबाट पाँच लाखको लत्ताकपडा बरामद
भारतबाट भन्सार छलेर नेपाल भित्राइएको करिब ५ लाख मुल्य बराबरको लत्ताकपडा प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले गएराति मेचीनगर सीमा नाकाको दुई छुट्टाछुट्टै स्थानबाट सो मुल्य बराबरको लत्ताकपडा बरामद गरेको हो ।
प्रहरीले मेचीनगर नगरपालिका- ७ मा बेवारिसे अवस्थामा फेला परेको तीन लाख ५० हजार मुल्य बराबरको लत्ताकपडा बरामद गरेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । सो लत्ताकपडाका पोकोहरू तस्कर समूहले भन्सार छलेर भित्राएको र व्यापारीको गोदाम वा पसलतर्फ लैजान राखेको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।
त्यस्तै प्रहरीले मेचीनगर- ६ बाट डेढ लाख मुल्य बराबरको लत्ताकपडा बरामद गरेको छ । ती सामान पनि भन्सार छलेर ल्याई बेवारिसे अवस्थामा राखेका थिए । बरामद गरिएको विभिन्न प्रकारका लत्ताकपडालाई आवश्यक कारबाहीका लागी मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको डीएसपी पाठकले जानकारी दिए ।