नवप्रभात सहकारीको नाफा १७ लाख १२ हजार
भद्रपुर । भद्रपुर–९ पहाँतुबारीस्थित नवप्रभात बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष ०७८/०७९ मा १७ लाख १२ हजार २२ रुपैयाँ सञ्चालन मुनाफा गरेको छ ।
स्थानीय श्रीकृष्ण प्रणामी मन्दिरको सभा हलमा शनिवार सम्पन्न संस्थाको ११ औं साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष भवानीप्रसाद सापकोटा (सुरज)–ले सो जानकारी दिएका हुन् ।
प्रतिवेदन अनुसार ०७९ असार मसान्तसम्ममा संस्थाको कूल शेयर पुँजी ६७ लाख ८८ हजार एक सय रुपैयाँ पुगेको छ भने ३ करोड ६१ लाख २६ हजार ५७६ रुपैयाँ निक्षेप सङ्कलन भएको छ । यस्तै लगानीमा रहेको ऋणको हिसाब ३ करोड ७३ लाख सात हजार २४८ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाका अध्यक्ष सापकोटाकै अध्यक्षतामा आयोजित साधारण सभाको उद्घाटन भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले गरेकी थिइन् । संस्थाका सहसचिव युवरा सिवाकोटी र व्यवस्थापक खगेन्द्र ढुङ्गानाले संयुक्त रुपमा सञ्चालन तथा उपाध्यक्ष दाताराम तिम्सिनाले स्वागत गरेको साधारण सभाको अवसरमा संस्थाले उत्कृष्ट बचतकर्ता तथा ऋणी र कक्षा ८ र एसइईमा उत्तीर्ण सदस्य परिवारका विद्यार्थीलाई सम्मान गरेको थियो ।
उत्कृष्ट बचतकर्तातर्फ देवबहादुर रोक्का, राजन पराजुली र सम्झना सिलवाल तथा उत्कृष्ट ऋणी सावित्रा पोखरेल र सुखसरी राजवंशी सम्मानित भएका थिए । यसैगरी, कक्षा ८ मा छात्रतर्फ उत्कृष्ट नतिजा प्राप्त गर्ने पुहाँतु जनज्योति मावि भद्रपुर ९ का सम्बन्ध कटुवाल र प्रज्ञा एकेडेमीका अभिषेक भट्टराई तथा छात्रातर्फ लिटल एञ्जल्स बोर्डिङ स्कुल मेचीनगरकी सन्ध्या घिमिरे, एसइईमा छात्रतर्फ वीरेन्द्र मावि भद्रपुरका अर्विन थापा र छात्रातर्फ पुहाँतु जनज्योति माविकी विप्ती रेग्मी, कक्षा १२ मा जेभियर इन्टरनेशनल स्कुल काठमाडौँमा अध्ययनरत निश्मा ढुङ्गाना र प्रमीला चौहानलाई पुरस्कृत गरिएको थियो । समारोहमा प्रमुख अतिथि नगर उपप्रमुख कार्की, शिक्षा सेवी विश्व थापालगायतले शुभकामना मन्तव्य राखेका थिए ।