बिर्तामोडको विकास योजना पुस्तिका सार्वजनिक
बिर्तामोड नगरपालिकाले नगर विकास योजना पुस्तिका सार्वजनिक गरेको छ । सोमवार पत्रकार सम्मेलन गरी नगरपालिकाले सो पुस्तिका सार्वजनिक गरेको हो । आर्थिक वर्ष २०७९/०८० को लागि नगर सभा अधिवेशनबाट पारित नीति , बजेट तथा कार्यक्रम त्यस पुस्तिकामा समेटिएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईँ , उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौला , प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेसहित १० वटै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले सो पुस्तिका सामूहिक रुपमा सार्वजनिक गरेका हुन् । सार्वजनिकीकरण कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईँले नगरपालिकाले सर्वसम्मत रुपमा चालु आर्थिक वर्षको लागि नीति, बजेट तथा कार्यक्रम तयार गरेको बताइन् । उनले सो बजेट कार्यान्वयन हुने प्रतिबद्धता पनि जनाइन् । कार्यक्रममा उपप्रमुख सङ्ग्रौला , प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले पनि बोलेका थिए ।
आगामी आर्थिक वर्ष ०७९/०८० को लागि कुल १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४ सय ९० रुपैयाँको (सामाजिक सुरक्षाको बजेट समेत) बजेट प्रस्ताव गरिएको छ । उक्त बजेटमध्ये आयतर्फ सङ्घीय समानीकरण अनुदानबाट २३ करोड ६० लाख, सङ्घीय सरकार राजश्व बाँडफाँटबाट १३ करोड ४३ लाख ९८ हजार, प्रदेश समानीकरण अनुदानबाट १ करोड ३३ लाख ७२ हजार, प्रदेश राजश्व बाँडफाँटबाट १ करोड १७ लाख ११ हजार ४ सय ९०, यसैगरी यस नगरको आन्तरिक आयबाट रु १५ करोड र मालपोत रजिस्ट्रेसन शुल्कबाट ११ करोड गरी जम्मा ६५ करोड ५४ लाख ८१ हजार ४ सय ९० प्राप्त हुनेछ भने सङ्घीय सशर्त अनुदान चालुतर्फ २६ करोड ७१ लाख तथा पुँजीगततर्फ १७ करोड १८ लाख, विशेष अनुदान २ करोड र समपूरक अनुदान १ करोड ३० लाख तथा प्रदेश सशर्त अनुदान ६१ लाख २३ हजार, समपूरक अनुदान १ करोड बजेट प्राप्त हुने र सोही बमोजिम विनियोजन हुने विवरण प्रस्ताव गरिएको छ ।
चालु खर्चतर्फ प्रशासनिक खर्च, कृषि, पशु विकास, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा दिइने अनुदान, क्षमता विकास, सीप विकास तालिमहरू तथा लक्षित वर्गको लागि बजेट विनियोजन गरिएको छ । पुँजीगततर्फ बहुबर्षे तथा क्रमागत योजनाहरूको निरन्तरता, शिक्षा, कृषि, पशु विकास, तथा स्वास्थ्यका पूर्वाधारजन्य योजना तथा कार्यक्रम, सडक सुधार तथा हेभी इक्युपमेन्ट सञ्चालन, मर्मत सम्भार कोष, विपन्न आवास निर्माण कार्यक्रम, वडा स्तरीय योजना तथा कार्यक्रमहरू, स्वास्थ्य केन्द्र तथा वडा कार्यालयहरूको भवन घेराबारा तथा मर्मत, फोहोर मैला व्यवस्थापन, सूचना प्रविधि व्यवस्थापन जस्ता योजना तथा कार्यक्रमहरूमा विनियोजन हुने गरी प्रस्ताव गरिएको छ ।