२०८३ बैशाख ७ गते , सोमबार

बिर्तामोड वाणिज्य सङ्घको नेतृत्वले व्यापारीको हितमा काम गर्न नसकेको उपाध्यक्षको आरोप

sajilo news
झापा
२०७९ कार्तिक २१ गते , सोमबार
बिर्तामोड वाणिज्य सङ्घको नेतृत्वले व्यापारीको हितमा काम गर्न नसकेको उपाध्यक्षको आरोप

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य सङ्घले व्यापारीको हितमा काम गर्न नसकेको उपाध्यक्ष सञ्जीव घिमिरेले आरोप लगाएका छन् । आज बिहान पत्रकार सम्मेलनको आयोजना गर्दै घिमिरेले नेतृत्व असफल भएको बताए ।

कोभिड महामारी र तरलताका कारण व्यवसायी मारमा परेको बेला बैङ्कको ब्याज वृद्धिले व्यवसायी पलायन हुने अवस्था बनेको घिमिरेको भनाई छ । उनी भन्छन् – बैङ्कको मनपरी ब्याज वृद्धिले घर खेत बेच्ने बेला भइसक्यो,सङ्घ बोल्दै बोल्दैन । सङ्घको नेतृत्व असक्षम भएका कारण व्यापारीको हितमा बोल्न नसकेको उनको आरोप छ ।

बैङ्कको ब्याज वृद्धि विरुद्ध सङ्घले खबरदारी गरौँ भन्दा सुनेन, उनले भने – मैले महिनौँ देखि उठाउँदै आउँदा समेत सङ्घ नबोलेपछि आफै पत्रकार सम्मेलन गर्न बाध्य भएको छु ।

व्यवसायी विभिन्न समस्याले ग्रसित भइरहेको भन्दै आगलागीबाट पीडित व्यापारीलाई राहत समेत नदिएको उनको भनाई छ । म बाध्य भएर बोल्दै छु, उनले थपे – व्यापारीको हितमा काम गर्न नसक्ने असक्षम नेतृत्व निर्वाचित गराएकोमा पश्चात् भएको छ । यो नेतृत्व रहुन्जेल व्यापारीले सहयोग पाउने स्थिति छैन ।

घिमिरेले एक्लै पत्रकार सम्मेलन गरेपछि बिर्तामोड वाणिज्य सङ्घभित्र विवाद चर्किएको स्पष्ट भएको छ । अध्यक्ष प्रकाश सिवाकोटी र उपाध्यक्ष घिमिरे एउटै प्यानलबाट निर्वाचित भएका हुन् ।

सम्बन्धित समाचार