बढ्दो आर्थिक मन्दीले श्रमिक बजार मारमा
बिर्तामोड । बढ्दो आर्थिक मन्दीको मारमा मुलुकको श्रमिक बजार परेको सरोकारवालाको निष्कर्ष छ । आर्थिक मन्दीको मारमा उद्योग, व्यवसाय राम्ररी चल्न नसक्दा ठुलो सङ्ख्यामा श्रमिकहरूको रोजगारी खतरामा परेको आज आइतबार बिर्तामोडमा सम्पन्न एक कार्यक्रमका सहभागीले बताएका हुन् ।
संवाद समूह झापाको संयोजनमा यूनिकम नेपालले आयोजना गरेको छलफल कार्यक्रमका सहभागीले मुलुकमा उद्योग, व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउने नीति अब बन्ने सरकारले लिनुपर्ने उनीहरूको जोड छ । उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकालले सरकारले चाडै बैङ्कको कर्जाबारे उद्योगी, व्यवसायीलाई सहज हुने नीति ल्याउनुपर्ने माग गरे ।
उनले उद्योग व्यवसाय नै धराप भए त्यसमा आश्रित ठुलो सङ्ख्याको श्रमिक कामविहीन हुन सक्ने बताए । उनले वर्तमान अवस्थाको समस्या समाधानका लागि उद्योगी, व्यवसायीसँगै श्रमिकले पनि सरकारलाई दबाब दिनुपर्ने धारणा राखे । महासंघ प्रदेश १ का सदस्य विनोद बस्नेतले श्रमिकको अधिकारको मात्र कुरा गर्दा उद्योगी व्यवसायीको पनि समस्याबारे जानकारी राख्न जरुरी रहेको बताए । उनले मुलुक आर्थिक मन्दीको अवस्थाबाट गुज्रिरहेको अवस्थामा यस्तो अवस्थामा श्रमिकको रोजगारी कसरी बचाउन सकिन्छ भन्ने बारे पनि बहस, छलफल हुन जरुरी रहेको बताए ।
महासंघ प्रदेश सदस्य प्रशान्त भण्डारीले रोजगारदाता र श्रमिकबीचको समस्या समाधानमा यूनिकम नेपालले खेलेको भूमिकाको प्रशंसा गरे । उनले यूनिकम नेपालको समन्वयमा झापाका विभिन्न स्थानमा रोजगारदाता र श्रमिकवीच उत्पन्न समस्याहरू सहज रुपमा समाधान भएको जानकारी गराए । यूएनआई ग्लोबल युनियनका कार्यक्रम संयोजक तिलकजंक खड्काले विश्व बजारमा जस्तो रोजगारदाता र श्रमिकबीचको सम्बन्ध सधैँ सुमधुर हुनुपर्नेमा जोड दिए ।
उनले रोजगारदाताको व्यवसायी चले मात्र श्रमिकले रोजगारी पाउने भएकाले सोहीअनुसार आफ्ना माग सम्बोधनलगायतका कार्यक्रमहरू गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा रोजगारदाता र श्रमिकको सम्बन्ध बढाउने गरी नियमित संवादका कार्यक्रमहरू आवश्यक रहेको यूनिकम नेपालका अध्यक्ष गजेन्द्रबहादुर पौडेलले बताए । उनले प्रदेश १ का रोजगारदाता र श्रमिकबीच आगामी दिनमा कुनै बाधा अवरोधबिना समस्याका लागि चाडै प्रदेशस्तरीय सामाजिक संवाद कार्यक्रम गर्न लागेको जानकारी दिए ।