राष्ट्र बैङ्कद्वारा ९ बैङ्कलाई कारबाही
नियमविपरित काम गर्ने नौवटा वाणिज्य बैंक कारवाहीमा परेका छन्। नेपाल राष्ट्र बैंकले निर्देशन विपरित काम गरेको भन्दै बैंकहरूलाई कारवाही गरेको हो। ती बैंकहरूले राष्ट्रबैंकको नियम, सर्कुलर र निर्देशन पालना नगरेपछि कारवाही गरेको हो।
कारवाहीमा पर्ने बैंकमा बैंक अफ काठमाडौं, कृषि विकास बैंक, प्रभु बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक छन्। त्यस्तै हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल आइएमइ बैंक र मेगा बैंक कारवाहीमा परेका हुन्।
विपन्न वर्ग क्षेत्र कर्जा लगानी नगरेको बैंक अफ काठमाडौंलाई राष्ट्रबैंकले २ करोड ११ लाख ८५ हजार रुपैयाँ जरिवाना तिराएको छ। कृषि विकास बैंकलाई २० लाख रुपैयाँ जरिवाना गरिएको छ। उसले सम्पत्ति शुद्धीकरण ऐन र निर्देशन उल्लघंन गरेको भन्दै कारवाही गरिएको राष्ट्रबैंकले जनाएको छ।
बैंक अफ काठमाडौं, प्रभु बैंक, कुमारी बैंक र प्राइम बैंकलाई रोक्का राख्न निर्देशन दिएका खातामा कारोबार गरेकोमा सचेत गराइएको छ। ती बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको हो।
एक पटक लगानी भएको कर्जामा प्रिमियम दर वृद्धि गरेका हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल बैंक र मेगा बैंकका प्रमुख कार्यकारी अधिकृतलाई पनि सचेत गराइएको छ। त्यस्तै आधार दरभन्दा कम ब्याजदरमा कर्जा दिएका सनराइज र मेगा बैंकलाई पनि सचेत गराइएको छ।
सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अवकाश हुँदा थप सुविधा दिएको र मेगा बैंकले लगानी भएका कर्जा असुल नगरी नवीकरण गरेको भन्दै राष्ट्र बैंकले सचेत गराएको छ। अन्नपूर्णबाट