२०८३ बैशाख १० गते , विहीबार

नवनिर्वाचित सांसद लिङ्देनद्वारा हल्दिबारीमा एकै दिन तीनवटा पुलको शिलान्यास

sajilo news
झापा
२०७९ मंसीर १४ गते , बुधबार
नवनिर्वाचित सांसद लिङ्देनद्वारा हल्दिबारीमा एकै दिन तीनवटा पुलको शिलान्यास

झापा क्षेत्र नम्बर ३ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद लिङ्देनले हल्दिबारीमा बुधवार एकै दिन तीन वटा पक्की पुलको शिलान्यास गरेका छन् ।

राप्रपा अध्यक्ष समेत रहेका लिङ्देनले आफ्नो निर्वाचन क्षेत्रको हल्दिबारी गाउँपालिकामा निर्माण हुन लागेको तीन वटा पक्की पुलको शिलान्यास गरेका हुन् ।

हल्दिबारी वडा नम्बर १ र ५ जोड्ने भुतेनी खोलामा ४२.७ मिटर लम्बाइ, वडा नम्बर ३ को भुसुडी खोलामा २६.८ मिटर लम्बाइ र भुसुडी खोलाकै अर्को स्थानमा २६.८ मिटर लम्बाई रहेको पुलको शिलान्यास लिङ्देनले एकै पटक गरेका हुन् । तीन वटै पुलको ठेक्का सारा सृष्टि निर्माण सेवा प्रालिले ४ करोड ६७ लाख ९४ हजार ८ सय ७८ रुपैयाँमा लिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।

तीन वटै पुल २०८१ मंसिर ५ गते निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख रहेको उनले बताए ।  गाउँपालिका क्षेत्र भित्रका अन्तिम तीन वटा काठको पुल विस्थापित गर्दै पक्की पुल निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनले बताए । सो शिलान्यास कार्यक्रममा झापा ३ (२) बाट भर्खरै निर्वाचित प्रदेश सांसद छविलाल चुँडाल, जनप्रतिनिधि, कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार