साकिराको गीतले युट्युबमा नयाँ कीर्तिमान
चर्चित गायिका साकिराको नयाँ गीतले युट्युबमा नयाँ कीर्तिमान बनाएको छ । आफ्ना पूर्वप्रेमी फुटबल खेलाडी जेरार्ड पिकेको व्यवहारबारे उनले तयार गरेको गीतले ‘युट्युब भ्युज’मा रेकर्ड बनाएको हो । चार मिनेटको पप गीतमा पहिलोपटक साकिरा र अर्जेन्टिनाका निर्माता तथा डीजे बिजरापले सहकार्य गरेका थिए ।
एक दशकसम्म प्रेम गरेको पूर्वप्रेमी पिकेले दिएको धोखाको विषय समेटेर साकिराले तयार गरेको गीतले युट्युबमा रिलिज भएको २४ घण्टामा ६३ मिलियन भ्युज पाएको छ । उक्त समयमा ल्याटिन गीतले पाएको यो सबैभन्दा बढी भ्युज हो ।
सन् २०२२ मा ४५ वर्षीया साकिराले ३५ वर्षीय पिकेसँगको १० वर्ष लामो प्रेमसम्बन्धलाई टुंग्र्याएको थियो । साकिरा युट्युब रेकर्डहरू तोड्ने ल्याटिन कलाकारहरूको प्रतिष्ठित सूचीमा सामेल छिन, जसमा जे बाल्भिन, लुइस फोन्सी र डैडी यान्कीलगायत रहेका छन् । यो ब्रेकअपको बारेमा साकिराको पहिलो गीत भने होइन । उनको तीन महिनाअघि पनि बदला भावको एक हृदय विदारक गीत आएको थियो ।