२०८३ बैशाख ३० गते , बुधबार

विप्लव नेकपाद्वारा ९ बुँदे घोषणापत्र जारी, विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक 

sajilo news
झापा
२०७९ माघ २१ गते , शनिबार
विप्लव नेकपाद्वारा ९ बुँदे घोषणापत्र जारी, विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक 

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मेची ब्युरोले विभिन्न संघर्षका कार्यक्रमको घोषणा गरेको छ। पार्टीको मेची ब्युरोले आज बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै देशको वर्तमान अवस्था , जनताको समस्या र पार्टीले आगामी दिनमा जनताको माझ रहेर गरिने संघर्षका कार्यक्रमहरू नेकपाले घोषणा गरेको छ।

नेपालमा सत्तारुढ दल दलाल पुँजीवादी व्यवस्था र जनताको चाहना र आवश्यकताको विपरीत रहेको बताउँदै पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमन सिंहले अहिलेको सत्ता विश्व साम्राज्यवाद, भारतीय साम्राज्यवाद तथा निगम पुँजीवादको आड भरोसा र आशीर्वादमा टिकिरहेको बताएका छन्, ।

देशको बस्तुगत आवश्यकता र जनचाहनाको विपक्षमा रहेको कारण यो व्यवस्थाको असफलता अनिवार्य रहेको बताउँदै  दलाल पुँजीवादी व्यवस्थाको सङ्कटलाई पुराना पार्टी र नेताहरूको असफलता बताएर पुरानै सारतत्व बोकेका तर नयाँ दल र नेतालाई बुख्याचाको रुपमा उभ्याएर जनतालाई भ्रमित गर्ने षड्यन्त्रमा कुलिन वर्ग र विदेशी शक्ति केन्द्रहरू लागिरहेका उक्त पार्टीका स्थायी कमिटी सदस्य अनिल विरहीले बताए । देशको वर्तमान सङ्कट यथार्थमा सत्ता वा प्रणालीको नै सङ्कट रहेको बताउँदै अहिले  सिस्टमको समस्या हो कि सोसाइटीको रु यो नै आजको मूल बहसको विषय रहेको समेत उनले बताए  । 

सत्ता सङ्कटलाई टार्न दलाल पुँजीवादले नयाँ पुँजीवादी दल र पात्रहरूलाई अगाडि ल्याउने, कम्युनिस्ट जनमत बदनाम गरेर गैर कम्युनिस्ट जनमत बढाउने, पुराना गठबन्धन भत्काएर नयाँ गठबन्धन निर्माण गर्ने , पुराना दलालको स्थानमा नयाँ दलालहरूलाई उभ्याउने र जनताको परिवर्तनको चाहनालाई दुरुपयोग गरेर क्रान्तिलाई भाँड्ने षड्यन्त्र गरिरहेको नेकपाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै ब्युरो इन्चार्ज सुमनसिंह सीले विश्व पुँजीवाद भयानक आर्थिक र वैचारिक सङ्कटतिर धकेलिएको र त्यसले नेपाललाई क्रीडा स्थल बनाउन खोजिरहेको बताएका छन्,। एमसिसी त्यसको पछिल्लो हर्कत रहेको र देशको राजनीतिक सङ्कटले आर्थिक सङ्कट, सार्वभौमिक सुरक्षा र अखण्डतामा नै सङ्कट पैदा गरेको उनको आरोप छ । दलाल पुँजीवादी व्यवस्थाबाट त्यसको निकास सम्भव नरहेको र संसदीय व्यवस्थाप्रति आस्थावान् बुद्धिजीवीहरूले नै वर्तमान राजनीतिक प्रणाली असफल भएको  कुरा बोल्न थालेको , दलहरूमा निकृष्ट स्वार्थ लम्पट प्रवृत्ति, वैचारिक पतन, नैतिक स्खलन उत्कर्षमा पुग्नुले  पार्टीको राजनीतिक विश्लेषणलाई सही साबित गरिदिएको नेकपाले बताएको छ । 

उक्त पार्टीको मेची ब्युरोको प्रथम बैठकले झापा सहित मेची क्षेत्रमा राजनीतिक, सांगठानिक, आर्थिक, सघर्षं, सांस्कृतिक, भारतीय सीमा क्षेत्रमा भइरहेका अतिक्रमणका विषय लगायत राष्ट्रिय स्वाधीनता र जनसरोकारका थुप्रै विषयमा छलफल गर्नुका साथै महत्त्वपूर्ण निर्णय लिएको बताएको छ । यस क्षेत्रमा सलबलाई रहेका जनतालाई भ्रमित गर्ने तत्त्वहरूको षड्यन्त्रमा नपरी दलालहरूको नेतृत्वमा रहेको सत्तालाई जरैबाट मिल्काएर वैज्ञानिक समाजवादी सत्ता निर्माणको प्रक्रियामा सामेल हुनलाई जनसङ्घर्षको बाटोमा आउन अपिल गर्दै निर्णीत विभिन्न  विषयहरू सार्वजनिक गरेको छ।

नेकपाले जारी गरेको आगामी कार्यक्रम 

१) मिटर ब्याज, लघु वित्तको चक्र वृत्ति ब्याज , चर्को बैङ्क ब्याज र बैङ्कले जनता माथि थोपरेको आतङ्कको विरुद्ध सङ्घर्ष गर्दै जनतालाई न्याय दिने । बैङ्क तथा वित्तीय क्षेत्रहरूलाई एक ‘१’ अङ्कमा व्याज घटाउन लगाउनको निम्ति कडा सङ्घर्ष गर्ने ।

२) भारतीय पक्षले झापा, इलाम, पाँचथर क्षेत्रमा सीमा अतिक्रमण गरिरहेको स्थिति छ, यसको छानबिन गर्दै जनताहरू सहित राष्ट्रिय स्वाधीनताको सङ्घर्ष सञ्चालन गर्ने ।

३) लागु औषध कारोबार र तस्करीको कारण समाज आक्रान्त बन्न पुगेको छ, यसको सूक्ष्म रुपमा अध्ययन गर्दै यसलाई नियमन गर्न जन सहभागिता सहित कडा कदम चालिने छ ।

४)सामाजिक विभेद, महिला हिंसा, लगायत समाजमा घटिरहेका यस प्रकारका विभेदकारी अत्याचार विरुद्ध जनताहरूलाई जागरित गर्दै कडा सङ्घर्ष गर्ने ।

५) स्वास्थ्य र शिक्षामा भइरहेको माफिया करणले जनताको जीवन अत्यन्तै कष्टकर बनिरहेको छ । हाम्रो पार्टी स्वास्थ्य र शिक्षाको क्षेत्रमा देखिएका यस्ता समस्याहरू विरुद्ध सशक्त  प्रकारले लड्ने छ ।

६)  स्थानीय निकाय र प्रशासनिक क्षेत्रमा भइरहेको भ्रष्टाचार, अनियमितता विरुद्ध जनपरिचालन सहित सशक्त  सङ्घर्ष गर्ने ।

७) महँगी, कालोबजारीको कारण जनतालाई पर्न गएको सङ्कट प्रति हाम्रो पार्टी संवेदनशील छ । जनता सहितको सङ्घर्षको बलमा बेलगाम लुटलाई ठेगान लगाइने छ । 

८) सुकुम्वासी माथि भइरहेका अत्याचार लगायतका विरुद्ध सङ्घर्ष गर्ने । सुकुम्वासी माथि अत्याचार गर्नेहरू विरुद्ध जन परिचालन सहित कारबाही सञ्चालन गर्ने ।

९) किसानहरूमाथि राज्य द्वारा भइरहेको ज्यादती र  बेवास्ता विरुद्ध किसान आन्दोलनलाई अगाडि बढाउने । भारतबाट निर्बाध  रुपमा क्वारेनटाइन चेक नगरी नेपालमा भित्रिरहेका फलफूल ,तरकारी, खाद्य पदार्थ, माछा मासु लगायतका उपभोग्य सामाग्रीहरूको कारण नेपाली जनताको स्वास्थ्यमा गम्भीर सङ्कटहरू आइरहेका छन् , यस विरुद्ध हाम्रो पार्टीले सशक्त  सङ्घर्ष गर्ने छ । 

यी तमाम सङ्घर्षहरूमा व्यापक जनपरिचालन गर्ने, जनताको विद्रोह र प्रतिरोधको नेतृत्व पार्टीले गर्ने निर्णय गरेको र यो अभियानमा सहयोग, समर्थन र सहभागिताको लागि आम जनतामाझ नेकपाले अपिल गरेको छ 

सम्बन्धित समाचार