२०८३ बैशाख ७ गते , सोमबार

दमकमा गाई कि त्रिशूल मञ्चन हुँदै

sajilo news
झापा
२०७९ फाल्गुन १ गते , सोमबार
दमकमा गाई कि त्रिशूल मञ्चन हुँदै

दमक । कदम थिएटर दमकले नाटक गाई कि त्रिशूल मञ्चन गर्ने भएको छ । दमकमा नियमित नाटक मञ्चन गर्दै आएको कदमले मङ्गलवारदेखि नाटक मञ्चन गर्न लागेको हो । चुलाचुली रङ्गमञ्चको चुलाचुली नाट्य पाठशालामा मञ्चन भएको नाटक चकलेटलाई थप परिमार्जन गरेर नाटक गाई कि त्रिशूल मञ्चन गर्न लागिएको निर्देशक मनिक शंकरले जानकारी दिए ।

सर्वोदय बोर्डिङ स्कुलसँगको सहकार्यमा मञ्चन हुन लागेको नाटकमा बाल मनोविज्ञानलाई समेटिएको अर्का निर्देशक दीपक खरेलले जानकारी दिए । ‘बालबालिकाले नियमित रुपमा पाउने दुई रुपैयाँको अभाव पछि उनीहरूको मनोविज्ञानमा परेको असरलाई नाटक गाई कि त्रिशूलले समेटेको छ,’ खरेल भन्छन्, ‘यो नाटक बालबालिकाद्वारा अभिनय गरिएको, बाल मनोविज्ञान बोकेको नाटक हो । नाटक बालमैत्री पनि छ । तर यसलाई बाल नाटक भन्न हामी रुचाउँदैनौँ ।’ सामाजिक र राजनीतिक उथलपुथलले विद्यालयमा पढ्दै गरेका बालबालिकाहरूको मनोविज्ञानमा पु¥याएको असरलाई नाटकमार्फत देखाउन खोजिएको निर्देशक खरेल बताउँछन् । 

प्रकाश शर्मा अधिकारी र सिजन दाहालले नाट्य रूपान्तरण गरेको नाटकलाई कदम थिएटरका दीपक खरेल र मनिक शंकरले निर्देशन गरेका छन् । यो नाटक फागुन २ गतेदेखि ८ गतेसम्म मञ्चन हुने भएको छ ।

कदम थिएटरले ‘विद्यालयमा रङ्गमञ्च’ अभियानमा दमकका केही विद्यालयहरूमा नाटक प्रशिक्षण गराइरहेको छ । यसैअन्तर्गत यो एक वर्षमा दमक कै सर्वोदय बोर्डिङमा विद्यार्थीहरूलाई अभिनय कार्यशाला गराए पश्चात् यो नाटक तयार पारिएको कदम थिएटरका कला निर्देशक सिजन दाहालले जानकारी दिए । ‘विद्यार्थीहरूलाई किताबका शिक्षासँगै सीपयुक्त ज्ञान पनि बाँड्नुपर्छ भन्ने उद्देश्यले रुचि भएका आफ्ना विद्यार्थीहरूलाई अभिनय कक्षा गराइएका हौँ,’उनले भने । नाटकमा दिप्लक राई, कुशल बस्नेत, नम्रता ओझा, गरिमा बस्नेत, अनिस्मा पौडेल, आयुध भण्डारी, सनोज तामाङ, ईशान केरुङ लिम्बू, नीराजन बस्नेत, मञ्जिल लिम्बु र एलेक्स नेपालीले अभिनय गरेका छन् ।

सम्बन्धित समाचार