भद्रपुरमा आदिवासी राजवंशी भाषिक सांस्कृतिक संग्रहालयको शिलान्यास
भद्रपुर । सिरूवा पर्वको अवसर पारेर झापाको भद्रपुरमा आदिवासी राजवंशी भाषिक सांस्कृतिक संग्रहालयको शिलान्यास गरिएको छ । भद्रपुर– ६ महेशपुरमा ७ कट्ठा क्षेत्रफलमा ५ करोड बढी लगानीमा पूर्वी तराईका आदिवासी राजवंशी समुदायको सम्पूर्ण पहिचान झल्कने गरी संग्रहालय निर्माण गर्ने लक्ष्यका साथ भवनको शिलान्यास गरिएको हो ।
भद्रपुर नगरपालिकाले प्रदान गरेको २० लाख रुपैयाँबाट पहिलो चरणको काम थालिएको संग्रहालयको शिलान्यास भद्रपुर नगरप्रमुख गणेश पोखरेलले गरेका हुन् ।
भद्रपुर नगरपालिकाभित्र राजवंशी समुदायका विभिन्न संस्थाको साझा नेतृत्व गरिरहेको आदिवासी राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा पहिलो चरणको निर्माण कार्य थालनी गर्न लागिएको जानकारी दिइएको थियो ।
सबै संस्थाको साझा नेतृत्व गरिरहेका आदिवासी राजवंशी सांस्कृतिक विकास प्रतिष्ठानका अध्यक्ष तुलारामसिंह राजवंशीको अध्यक्षता तथा भद्रपुर नगरप्रमुख पोखरेलको प्रमुख आतिथ्यमा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष राजवंशीले संग्रहालयमा राजवंशी जातिको पहिचानका रूपमा रहेका तर वर्तमानमा लोप भइसकेका, लोप हुन लागेका चुवारी घर, बंगला घरदेखि भेसभुसा, रहनसहन, संस्कार संस्कृतिसम्मका विविध पहिचान संग्रहित हुने जानकारी दिए ।
उनका अनुसार कोसी प्रदेशकै आकर्षक संग्रहालय बनाउन ५ करोड बढी खर्च लाग्ने छ भने स्रोतका रूपमा स्थानीय, प्रदेश र संघीय सरकारदेखि विभिन्न दातासम्म जुटाएर ५ वर्षभित्र निर्माण सम्पन्न गरिने छ ।
कार्यक्रममा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, निवर्तमान प्रमुख जीवनकुमार श्रेष्ठ, भद्रपुर १ का वडाध्यक्ष रामप्रसाद अधिकारी, ६ का वडाध्यक्ष रतिया राजवंशी, ७ का वडाध्यक्ष अभिषेक ढुङ्गाना, ८ का वडाध्यक्ष गौरव सुब्बा मनोजलगायतले धारणा राख्दै संग्रहालय नगरको गहना भएकोले निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।