आजदेखि भद्रपुरमा प्रथम चन्द्रगढी सांस्कृतिक तथा साङ्गीतिक महोत्सव सुरु
भद्रपुर । भद्रपुरमा प्रथम चन्द्रगढी सांस्कृतिक तथा साङ्गीतिक महोत्सव आइतबारदेखि सुरु भएको छ । चन्द्रगढी भेट्रान्स क्लबद्वारा आयोजित महोत्सवको उद्घाटन नेपाल क्रिकेट क्लब भद्रपुरका अध्यक्ष तथा युवा उद्योगी आदित्य पराजुलीले गरेका हुन् । नगर क्षेत्र भित्रका विभिन्न विधाका खेलाडीलाई टिकाइ राख्ने उद्देश्यले चन्द्रगढी भेट्रान्स क्लबले सदरमुकाम भद्रपुर-८ स्थित निर्माणाधीन गिरिजाप्रसाद कोइराला स्मृति भवन अगाडि महोत्सव लगाएको हो ।
महोत्सवबाट उठेको रकम फुटबल खेलको विकाससँगै खेलकुद क्षेत्रमा सहयोग गरी क्लबको कोषको विकास गरिने क्लबका सचिव तथा महोत्सव आयोजक समितिका संयोजक भूपाल कार्कीले जानकारी दिए । क्लबको आर्थिक अवस्थालाई उकास्न ११ वर्षपछि यस्तो प्रकारको कार्यक्रम गरिएको क्लबका उपाध्यक्ष बिकी जैसवालले जानकारी दिए ।
महोत्सवमा रोटेपिङ्, नाउ, ड्रागन, चिल्ड्रेनपार्क जस्ता मनोरञ्जनात्मक खेलहरू रहने उनले बताए । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति रहने क्लबका उमेश तामाङले जानकारी दिए । महोत्सवमा २० वटा भन्दा माथि व्यापारका विभिन्न स्टल रहने उनको भनाई छ । स्टलहरूको लागि निर्माणाधीन जिपी भवनको भुईँ तलालाई प्रयोग गरिने जनाइएको छ ।