२०८३ बैशाख ७ गते , सोमबार

‘महेन्द्र पार्क’ को थप सुन्दरता झल्काउन वृक्षारोपण

sajilo news
पार्थ मण्डल
२०८० जेष्ठ ३० गते , मंगलबार
‘महेन्द्र पार्क’ को थप सुन्दरता झल्काउन वृक्षारोपण

झापा ।  झापाको सदरमुकाम भद्रपुर–८ स्थित ‘महेन्द्र पार्क’ को थप सौन्दर्य झल्काउन वृक्षारोपण गरिएको छ। भद्रपुर ८ नम्बर वडा अध्यक्ष गौरव सुब्बा (मनोज) ले आफ्ना बुवा विरहाङ्ग लिम्बु (सुब्बा) र सासुआमा भूमिमाया लिम्बुको स्मृतिमा ‘महेन्द्र पार्क’ मा विभिन्न जातका १२ सय बढी बिरुवा ल्याएर रोपेका हुन्। 

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, वडा अध्यक्ष सुब्बासहित उनका परिवारजनका सदस्यहरूले मंगलबार बिहान एक संक्षिप्त कार्यक्रम गरी पार्कमा वृक्षारोपण गरेका थिए। 

वडा अध्यक्ष सुब्बाले भारतको कलकत्ताबाट करिब १ लाख ५ हजार मुल्य बराबरको विभिन्न जातका बिरुवा पार्कका लागि मगाएका थिए। नगरपालिकाले विगत चार वर्षदेखि यस पार्कको जीर्णोद्धार र सौन्दर्यमा ध्यान दिन थालेको नगर प्रमुख पोखरेलले बताए। 

नगरपालिकाको स्वामित्वमा रहेको यस पार्कलाई थप व्यवस्थित बनाउन आगामी आर्थिक वर्ष बजेट छुट्टाएर थप कामहरू अघि बढाउने उनको भनाई छ। त्यस्तै वडा अध्यक्ष सुब्बाका अनुसार वडा कार्यालयले पार्कलाई परिष्कृत र अझ बढी सौन्दर्यकरण गर्ने काम गरिरहेको बताए। 

‘आगामी आवमा अझ धेरै बजेट छुट्टाएर महेन्द्र पार्कलाई पहिलेभन्दा राम्रो पर्यटकीय स्थलका रुपमा विकास गर्ने हाम्रो योजना छ,’ उनले भने, ‘यसका लागि आफू लागि  परेका छु, पार्कभित्र पानीको फोहोरा, बिजुली बत्ती जडान लगायतको काम गर्न बाँकी छ।’ पार्कको विकासका लागि प्रदेश तथा संघीय सरकारबाट समेत बजेट माग गरिने उनको भनाई छ। 

पार्कको रंगरोगन गर्ने, बगैँचामा माटो भर्ने लगायतका काम गर्न धनजुजु श्रेष्ठको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको छ। समितिले नियमित रुपमा पार्कको जीर्णोद्धारको काम अघि बढाइरहेको छ। 

पार्कभित्र बालबालिकालाई मनोरञ्जनका लागि पिङ, चिप्लेटी, चाकाचुली लगायतका खेल सामग्रीहरू राख्ने र पुराना थोत्रिएका सामान हटाएर नयाँ राख्ने काम पनि भइरहेको छ।  पर्यटकको सबैभन्दा बढी आकर्षण रहने फूलबारीमा नयाँ फूल रोप्ने, पुराना गोड्ने र झारपात फालेर चिटिक्क बनाउने कार्यमा नगरपालिकाले कर्मचारीहरू परिचालन गरिएको छ। पार्कको सौन्दर्य फेर्न माली अमृत थापाको महत्त्वपूर्ण योगदान रहेको बताइएको छ। 

सम्बन्धित समाचार